जातीय विभेदमा संलग्न स्वास्थ्य चौकी इञ्चार्ज पक्राउ

जातीय विभेदमा संलग्न स्वास्थ्य चौकी इञ्चार्ज पक्राउ

मुगुमा अनमीमाथि जातीय विभेद गरेका स्वास्थ्य चौकी इञ्चार्ज पक्राउ परेका छन् । 

सोरु गाउँपालिका–९ स्थित खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुल्सा विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा इञ्चार्ज सुरजकुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अनमी तुल्सामाथि भएको जातीय विभेदको घटनाले केही दिन यता सामाजिक सञ्जालमासमेत चर्चा पाइरहेको थियो । योसँगै अनमी तुल्साले आफूमाथि जातीय विभेद भएको जनाउँदै तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।

पक्राउ परेका स्वास्थ्य चौकी इञ्चार्ज शाहीका आमा झापु शाही र अर्का सोरु गाउँपालिका– ६ का धनप्रसाद भट्टलाई भने शनिबार नै पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । 

दाङ तुल्सीपुर घर भई सोरु गाउँपालिका–९ स्थित खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुल्सा ११ महिनादेखि सोही स्वास्थ्य चौकी इञ्चार्ज शाहीको घरमा डेरा लिएर बस्दै आएकी थिइन् ।
 

टिप्पणीहरू