मन्त्रीको सपथ समारोह बहिष्कार गरेका काँग्रेसीहरु राजीनामाको अडानमा
लुम्बिनी प्रदेशका उद्योग तथा यातायातमन्त्री सरोज थापा उर्फ रोज राणाको नियुक्ति लगत्तै चर्को आलोचना सुरु भएको छ । राणालाई गत शनिबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपाली काँग्रेसबाट उद्योग तथा यातायातमन्त्री नियुक्त गरेका हुन् ।
गुण्डागर्दी पृष्ठभूमिबाट आएका राणालाई मुख्यमन्त्री चौधरीले मन्त्री बनाएलगत्तै सरकारको नेतृत्व गरेको काँग्रेससँगै सत्तारुढ दलहरुले चर्को आलोचना गरेका छन् । काँग्रेसबाट संस्थापन इतर समूहबाट एक जनालाई पनि सरकारमा नलगेका मुख्यमन्त्री चौधरीको निर्णयप्रति काँग्रेस प्रदेश नेतृत्व असन्तुष्ट बनेको छ । यहाँसम्म कि राणाको राजिनामासमेत माग्न थालिएको छ । मुख्यमन्त्री चौधरी भने पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् ।
राणा अहिले राजनीतिक छवि बनाएर मन्त्री बनिसकेका छन्, तर उनको पुरानो परिचय भने चलचित्र निर्माता हो । यति मात्रै होइन, उनी एक समयका राजधानीका नाम चलेका डन पनि हुन् । त्यतिबेला काठमाडौँका एसएसपी थिए, रमेश खरेल ।
त्यसो त नेपाली चलचित्रमा उनले योगदान नदिएका भने होइनन् । उनले ‘दादागिरी’, ‘डन’, ‘खलनायक’, ‘महान’, ‘टक्कर दुई मुटुको’ लगायतका फिल्म निर्माण गरे। उनले ‘मेरो पैसा खोइ’ र ‘जय परशुराम’ लगायतका चलचित्र पनि निर्देशन गरे ।
तर उनको दादागिरी चलचित्र क्षेत्रमा पनि हावी भएरै छाड्यो । चलचित्र क्षेत्रका कलाकार उनको दादागिरीबाट हैरान थिए । त्यो बेलाका स्टार निखिल उप्रेतीले उनको फिल्ममा अभिनय गर्न नमान्दा घरैबाट उडाउने धम्की दिएको घटना प्रहरीसम्मै पुगेको थियो ।
उनको असली धन्दा रात्रिकालीन व्यवसाय थियो । राणाको बागबजार अनि गंगबुमा डान्सबार थियो । बागबजारमा रहेको उनको डान्सबार नग्न नृत्यका लागि खुब चर्चामा थियो ।
बागबजारमा रहेको टप भिआइपी डान्सबारमा छापा मार्ने क्रममा पक्राउ परेका युवतीहरूले बार सञ्चालकले जबर्जस्ती नाङ्गै नचाउने गरेको बयान दिएपछि काठमाडौँका तत्कालीन एसएसपी रमेश खरेलले राणामाथि मानव बेचबिखनको आरोपमा अनुसन्धान प्रक्रिया अगाडि बढाए ।
केही महिना लुकेका उनी बागबजार क्षेत्रमै पक्राउ परे । काठमाडौँ जिल्ला अदालतको आदेशमा उनी केन्द्रीय कारागारमा सात महिना जेल पनि बसे । तर पछि पैसाको बोराले उनलाई मानव बेचबिखनको अभियोगबाट सफाइ दिलायो ।
नेपाली काँग्रेसभित्र आरजु राणा निकटको छवि बनाएका उनी जिल्ला फर्किएर राजनीतिमा लागे । सोही आडमा उनी छोटो समयमै काँग्रेसको राजनीतिमा जम्दै गए । प्यूठान २ को पार्टीको क्षेत्रीय सभापति निर्वाचित भए । २०७९ मा प्रदेशको टिकट पाएर गठबन्धनबाट निर्वाचित भए पनि मन्त्रीको सूचीमा परेनन् ।
संस्थापन पक्षको लगातार दबाबपछि अन्ततः मुख्यमन्त्री चौधरीले संस्थापनइतर समूहको असहमतिमा थापालाई मन्त्री बनाइछाडे । तर आइतबार मन्त्रीको शपथका लागि आयोजित समारोह काँग्रेस संस्थापनइतर समूहले बहिष्कार गर्यो । अझै पनि उनीहरु राणाको राजिनामा माग गर्दै असन्तुष्टी पोखिरहेका छन् ।
टिप्पणीहरू