पछिल्लो वर्षभन्दा आगामी चार वर्ष झन् राम्रो गरिने प्रधानमन्त्रीको दाबी

पछिल्लो वर्षभन्दा आगामी चार वर्ष झन् राम्रो गरिने प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनको एक वर्षमा गठबन्धन अझै बलियो बनेको बताउनुभएको छ । उहाँले आफू नेतृत्वको सरकार पाँचै वर्ष टिक्नेसमेत दाबी गर्नुभयो । 

गोरखाको वारपाक सुलिकोट गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त भनाई राख्नुभएको हो । गठबन्धन सरकारको एक वर्षे कार्यकालमा केही रेकर्ड बनेको बताउँदै उहाँले बाँकी चार वर्षमा झन् धेरै राम्रा काम गरिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । 

‘सरकारले यो एक वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने केही कामहरु गरेको छ । नागरिकता समस्या, मिटरब्याजीको समस्या, सामाजिक सुरक्षाको क्षेत्रमा, विकास निर्माणको क्षेत्रमा सरकारले बूढीगण्डकी आयोजना, जलवायु न्यायको विषयमा पर्वतीय देशहरुको नेतृत्व गरिएको छ’, उहाँले भन्नुभयो, ‘एक वर्षमा यति काम भए भने बाँकी चार वर्षमा त झनै धेरै राम्रा काम हुनेछन् ।’

सरकारले राम्रा कामको सुरुवात गरेको भएपनि गणतन्त्र र परिर्वतन विरोधिहरुले केही भएन भन्ने भाष्य स्थापित गराउन खोजिएको जनाउँदै प्रधानमन्त्रीले असन्तुष्टि जनाउनुभयो । जनता र परिर्वतन पक्षधरहरुलाई उहाँले राम्रा कामको समर्थन गर्न आग्रहसमेत गर्नुभयो ।

 

प्रधानमन्त्रीले भन्नुभयो, ‘हामीले गाउँगाउँमा सिंहदरबारको रुपमा महिला, दलित र सबैको समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था स्थापना गरेका छौं । यसबाट धेरै राम्रा काम पनि भएका छन् । त्यसको पक्षमा हामीले बोल्नुपर्छ । सरकारका राम्रा कामको प्रचार हामीले नै गर्नुपर्छ ।’ 

प्रधानमन्त्री प्रचण्डले पहिलो वर्ष गठबधन परिर्वतनलगायत विभिन्न अलमलका कारण बजेट निर्माणमा राम्रो ध्यान दिन नसकिएको बताउँदै यो वर्ष व्यापक छलफल गरेर जनताको सहभागीतामा बजेट निर्माण गराइने जानकारी गराउनुभयो । 

‘निर्वाचन लगत्तै एउटा परिस्थितिमा सरकार बन्यो र मैले त्यो सरकारको नेतृत्व गर्न पाएँ, पछि फेरि राजनीतिक कोर्स फेरिएकाले नयाँ गठबन्धनको प्रधानमन्त्री बनें’ उहाँले भन्नुभयो, ‘त्यतिबेलासम्ममा नीति तथा कार्यक्रम बनिसकेको थियो, त्यसैले गत वर्ष पर्याप्त ध्यान पुग्न सकेन, आगामी बजेटमा म उचित सम्बोधनको प्रयास गर्नेछु ।’

नेकपा (माओवादी केन्द्र) को ‘जनतासँग रुपान्तरण अभियान’ अन्तर्गत प्रत्येक नेता सातवटा प्रदेशका सात वडामा जाने पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रचण्डलाई वारपाक सुलिकोट गाउँपालिको वडा नम्बर ८ को जिम्मा परेको थियो । सोही कार्यक्रममा सहभागी हुन उहाँ आज गोरखा पुग्नुभएको हो ।

टिप्पणीहरू