दुई नाबालकलाई अगाडि राखेर रुखमा झुण्डिन् देवकला
नेकपा माओवादी केन्द्रका रुपन्देही जिल्ला सदस्य मनोजकुमार रानाकी श्रीमतीले आत्महत्या गरेकी छन् । उनकी श्रीमती देवकला रानाले रुखमा झुण्डिएर ज्यान दिएकी हुन् । हिजो दिउँसो २ बजे तिलोत्तमा नगरपालिका–४,स्थित वनमा पासो लगाएर उनले आत्महत्या गरेपछि माइती पक्षले रानामाथि आत्महत्या दुरुत्साहनको आरोप लगाएको छ ।
अर्घाखाँचीबाट हिजै रुपन्देही आएको मृतकको माइती पक्षले शव पोस्टमार्टम गर्न मानेका छैनन् । यता, उनीहरुले शव पनि बुझेका छैनन् । स्थानीयले भने देवकलाको आत्महत्यालाई ‘अचम्मको आत्महत्या’ भनिरहेका छन् । उनले आफ्नो चार वर्ष र १९ महिनाको बच्चालाई सामुन्ने राखेर रुखमा पासो लगाएको स्थानीय बताउँछन् ।
सबैले देख्ने ठाउँमा झुण्डिएकी उनलाई कसैले पनि बचाउन प्रयास गरेको पाइएन । नेपालको कानुनमा छोएपछि बात लगाउने प्रवृत्ति भएकाले कसैले नबचाएको स्रोत बताउँछ । ‘उहाँले आत्महत्या गर्नुभएको ठाउँमा केही सिसौको रुख छ । यताउता हिँड्नेले पनि देख्ने ठाउँमा उहाँ झुण्डिनुभएको छ । आफ्नो स–साना बच्चालाई अगाडि राखेर उहाँले पासो लगाउनुभयो । तर,कसैले बचाएनन् । हेर्नुको साटो बचाएको भए उहाँ बाँच्नुहुन्थ्यो’, स्रोतले भन्यो ।
स्रोतका अनुसार घटनापश्चात् मृतकको परिवार तत्काल अर्घाखाँचीबाट आएको हो । उनीहरुले अहिलेसम्म पनि शव बुझ्न नमानेको स्रोत बताउँछ । स्रोत भन्छ,‘हिजो उहाँहरु आएपछि आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गर्न थाल्नुभयो । उहाँहरु पोस्टमार्टम पनि नगर्ने, लाश पनि नबुझ्ने भन्दै हुनुहुन्थ्यो । बेलुका सहमतिको प्रयास गरिएको हो,तर भएन ।’
शव बुझ्नका लागि माइती पक्षले चार बुँदे माग राखेको छ । बालबच्चाको जन्म दर्तामा आमाको नाम उल्लेख गर्नुपर्ने, उनीहरुको नाममा सम्पत्ति राख्नुपर्ने र त्यसको संरक्षक बुवा हुनुपर्ने,मामाघर आउन जान पाउनुपर्नेलगायतका माग माइती पक्षको रहेको छ । जन्मदर्ताका लागि समय लाग्ने भएकाले अझै सहमति हुन नसकेको स्रोतको भनाइ छ ।
मृतकको श्रीमान् मनोजकुमार रुपन्देहीमा सीजी ग्रुपको रक्सी डिलर हुन् । उनी हुनेखाने परिवारकै भएको छिमेकी बताउँछन् । ‘उहाँ राम्रै व्यक्ति हुनुहुन्छ । पहिलेपहिले केटाकेटी खालको झगडा भइरहन्थ्यो तर ठूलो झगडा भएको थिएन । स्मार्ट फोनको विषयमा केही दिनदेखि विवाद भइरहेको थियो । श्रीमतीले स्मार्ट फोन किनिदिनु भन्दै हुनुहुन्थ्यो,उहाँले मानिरहनुभएको थिएन । फोनकै कारण यो घटना घटेको हो कि भन्ने अनुमान लगाइएको छ’, ती छिमेकीले भने ।
ईलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले मृतकको माइती पक्षबाट कुनै पनि जाहेरी नआएको जानकारी दिए । यस विषयमा दुवै परिवारका सदस्यबीच आन्तरिक छलफल भइरहेको उनले बताए । ‘यो सुसाइड नै हो । मृतकको परिवारले चाँहि आत्महत्या दुरुत्साहनको आरोप लगाइरहनुभएको छ । हामीले जाहेरी दिन आउनु भनेका छौं तर अहिलेसम्म आउनुभएको छैन’, उनले भने ।
टिप्पणीहरू