सर्वसाधारण ठग्ने क्रम रोकिएन, विदेश पठाउने दलालहरु पक्राउ

सर्वसाधारण ठग्ने क्रम रोकिएन, विदेश पठाउने दलालहरु पक्राउ

वैदेशिक रोजगारीमा रोमानिया र स्लोभानिया पठाइदिने नाममा ठग्दै आएका तीन जनालाई प्रहरीले पक्रेको छ । आकर्षक तलबको प्रलोभनमा सर्वसाधारण ठग्ने ढालबहादुर बुढाथोकी, अजयराज शाही र छिमी सुनिनलाई प्रहरीले समातेको हो । 

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । काठमाडौं महानगरपालिका–२४, बाङ्गेमुढा बस्ने दोलखाका ५० वर्षीय बुढाथोकीले वैदेशिक रोजगारीमा रोमानिया पठाइदिने र त्यहाँ पुगेपछि फुड प्याकिङको काम लगाइदिने भन्दै ठगेको खुल्न आएको छ । 

रोमानिया जान प्रतिव्यक्ति छ लाख लाग्ने र मासिक एक लाख तलब हुने आश्वासनमा पीडितहरुबाट पटकपटक गरी २१ लाख ३६ हजार रुपैयाँ उठाएपछि उनी फरार भएका थिए । 

यता, काठमाडौंको चन्द्रागिरी बस्दै आएका शाही र सुनिनले पनि वैदेशिक रोजगारीमा स्लोभानिया पठाइदिने र त्यहाँ पुगेपछि फ्रयाक्ट्रीमा काम लगाइदिने प्रलोभनमा ठगी गरेको प्रहरीको आरोप छ । 

स्लोभानिया जान प्रतिव्यक्ति सात लाख लाग्ने र मासिक ७० हजारभन्दा बढी तलब हुने आश्वासन बाँडेर पीडितबाट पटकपटक गरी दुई लाख ८० हजार रुपैयाँ उठाएपछि उनीहरु सम्पर्कविहीन भएका थिए । 

आफूहरु ठगिएको थाहा पाएपछि पीडितहरुले वैदेशिक रोजगार विभाग गुहारेका हुन् । विभागकै अनुरोधमा प्रहरीले खोजतलास अघि बढाउँदा उनीहरु पक्राउ परेको जनाइएको छ । 

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीको निम्ति विभाग पठाइएको छ ।

टिप्पणीहरू