छोरी र भतिजीलाई दुईतिर राखेर पूर्व राजाले यसो भने.....
नागरिक अभिनन्दन थाप्न भैरहवा झरेका पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अवस्थालाई लिएर चिन्ता जनाएका छन् । देशमा गणतन्त्र विरोधी शक्तिहरु सक्रिय हुन थालेको भनिएका बेला राजसंस्था फर्काउने एजेण्डामा राजनीति गरिरहेको पूर्वपञ्चहरुको पार्टी राप्रपाका शीर्ष नेताहरुसँगको गोप्य भेटवार्तामा उनी मुलुकको समग्र अवस्थाप्रति चिन्तित देखिएका हुन् ।
श्रीमती कोमल,छोरी प्रेरणा र भतिजी सिताष्मासहित नागरिक अभिनन्दन तथा भेटघाटहरुका लागि केही दिनदेखि भैरहवामा रहेका पूर्वराजा ज्ञानेन्द्रले राप्रपाका पाँच जना शीर्ष नेतालाई बोलाएर हिजो आफू बसेकै होटलमा अढाई घण्टा छलफल गरेका थिए । त्यसक्रममा उनले देशको आर्थिक अवस्था,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति,राप्रपाले गर्ने भनेको आन्दोलनका साथै हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा बन्दै गएको माहोलबारे खुलेर कुराकानी गरेको बताइएको छ ।
पूर्वराजाबाट 'दर्शन भेट'का लागि बोलावट भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन, उपाध्यक्ष बुद्धिमान तामाङ,रवीन्द्र मिश्र, धवलसमशेर राणा र दीपक सिंह अस्ति काठमाडौँबाट छुट्टाछुट्टै जहाजमा भैरहवा पुगेका थिए । त्यहाँस्थित निर्वाणा होटलमा बसेका उनीहरुलाई पाँचतारे होटल सिद्धार्थमा बसेका पूर्वराजाले हिजो त्यहीँ बोलाएर छलफल गरेका हुन् ।
'तिमीहरु आन्दोलन गर्छु भन्छौ भने गर तर,म यो पार्टी त्यो पार्टी भनेर हिंड्दिन', उनले प्रष्ट भने, 'म सबै नेपालीको हो, नेपालीको हितका लागि काम गर्छु, कुनै पार्टीको भएर लाग्दिन ।'
शुरुमा पूर्वराजा ज्ञानेन्द्रले देश अप्ठेरो अवस्थामा रहेको भन्दै राजसंस्थाको औचित्य र आवश्यकताबारे आफ्ना कुरा राखेका थिए । त्यस्तै,दक्षिण र उत्तरको छिमेकीतर्फ इंगित गर्दै उनले भूराजनीतिक चलखेलका कारण परिस्थिति जटिल बनेको बताए । 'ठूला दुइटा राष्ट्रका वीचमा हामी छौँ । तर ब्यालेन्स भएन भन्नेकुरा गर्नुभयो', त्यहाँ सहभागी राप्रपाका एक नेताले भने । त्यसक्रममा पूर्वराजाले प्रष्ट नभने पनि अहिलेको सत्ता गठबन्धन दक्षिणतर्फ झुकेको संकेत पनि गरेका थिए ।
राप्रपाका नेताहरु सुन्ने, पूर्वराजाले आफ्ना कुरा राख्ने प्रकारको छलफलमा हिन्दुत्वको कुरा पनि उठ्यो । तर, पूर्वराजा ज्ञानेन्द्र राप्रपाका नेताहरु र कतिपय हिन्दुवादीहरु जस्तो कट्टर हिन्दुत्वको पक्षमा नदेखिएको बताइएको छ । 'भारत र हाम्रो परिवेश नितान्त फरक छ । हाम्रो आफ्नै विशिष्ट विशेषता छ । हामीकहाँ हिन्दुभित्रै पनि धेरै धारा छन् । त्यसकारण भारतमा जस्तो हिन्दु राष्ट्रको कुरा गरेर हुँदैन । सबै जनतालाई समेट्ने गरी जानुपर्छ', ज्ञानेन्द्रको भनाई उद्धृत गर्दै भेटमा सहभागी ती नेताले सुनाए ।
त्यसक्रममा ज्ञानेन्द्रले राजसंस्था फर्काउन उग्र कुरा गरेर कतिपय शक्तिहरुले प्रभावित गर्न खोजेपनि आफूले स्वीकार नगरेको बताए । आफू सिंगो मुलुकको साझा व्यक्ति भएकाले कुनै दल र समूहप्रेरित भएर नलाग्ने आफ्नो धारणा राप्रपाका नेताहरुलाई सुनाए । राजसंस्था कस्तो बनाउने भन्ने विषयमा पनि आफ्नो कुनै भनाई नरहेको पूर्वराजाको कथन थियो ।
'बेलायतमा एक खालको राजतन्त्र छ,जापानमा अर्कै छ । त्यसकारण नेपालले आफ्नो विशिष्टतामा गर्ने हो । कस्तो राजा चाहिन्छ, कस्तो हिन्दु अधिराज्य बनाउने भन्ने कुरा जनताले गर्ने हो', उनले भनेका थिए । पूर्वराजा ज्ञानेन्द्रले देशको आर्थिक अवस्था बिग्रंदै गएको र युवाहरुको विदेश पलायन बढेकोमा पनि गहिरो चिन्ता गरे । यही अवस्था रहिरहे बूढा र बच्चामात्रै देशमा रहने स्थिति आउनेतर्फ उनमा चिन्ता देखिएको राप्रपाका ती नेताले सुनाए ।
राप्रपाको आन्दोलनका विषयमा पनि पूर्वराजाले आफ्ना धारणा राखे । 'तिमीहरु आन्दोलन गर्छु भन्छौ भने गर तर,म यो पार्टी त्यो पार्टी भनेर हिंड्दिन', उनले प्रष्ट भने, 'म सबै नेपालीको हो, नेपालीको हितका लागि काम गर्छु, कुनै पार्टीको भएर लाग्दिन ।'
तथापि राजसंस्थाको एजेन्डा बोकेको पार्टी हुनुका कारण राप्रपा र त्यस पार्टीका नेताहरुसंग स्वभाविक रुपमा निकटता भने हुने पूर्वराजा ज्ञानेन्द्रको भनाई थियो । संविधानले समेत आन्दोलन गर्ने अधिकार दिएकाले आफूले यसो-उसो नभन्ने तर आन्दोलन शान्तिपूर्ण हुनुपर्नेमा उनको विशेष जोड थियो । अढाई घण्टाको कुराकानीमा विभिन्न विषयमा चिन्ता जनाएका पूर्वराजा ज्ञानेन्द्रले समाधानको उपायबारे भने खासै चर्चा गरेनन् ।
भेटमा दरबारका तर्फबाट ज्ञानेन्द्रका छोरी प्रेरणा तथा प्रमुख सचिव राजेश सिंह र सागर तिमिल्सिना सहभागी थिए । ठूलो हलमा भएको भेटमा एकातर्फ पूर्वराजा ज्ञानेन्द्र थिए भने उनको दुईतिर भतिजी र छोरी बसेका थिए । पूर्वराजाको सामुन्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई वीचमा पारेर एकापट्टी बुद्धिमान र अर्कोपट्टी रविन्द्र बसेका थिए । बुद्धिमानसंगै धवललाई बस्ने व्यवस्था मिलाइएको थियो ।
छलफलपछि पूर्वराजाले राप्रपाका नेताहरुसँगै त्यही होटलको तल लन्च लिएका थिए । लन्चमा नेपाली खानाका परिकार राखिएको थियो । दालभात,गोलभेडा र गुन्द्रुकको अचार,काउली र आलुको तरकारी,साग र गाउँले तरिकामा बनाएको खसीको झोलवाला मासु रविन्द्र मिश्रहरुले थपि-थपि खाए । लन्चपछि दूधबरी खाएर राप्रपाका नेताहरु पूर्वराजासँग विदा भएका थिए ।
टिप्पणीहरू