भारतीय दूतावासले सोझै २० करोड खर्चने सम्झौताप्रति झलनाथ खनाल क्रुद्ध

भारतीय दूतावासले सोझै २० करोड खर्चने सम्झौताप्रति झलनाथ खनाल क्रुद्ध

भूतपूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले हिजो भएको नेपाल र भारतबीचको एउटा सम्झौताप्रति रोष प्रकट गर्नुभएको छ । भारतीय दूतावासले नेपालभित्र २० करोड रुपैयाँका आयोजनाहरुमा सोझै खर्च गर्न पाउने पछिल्लो सहमतिमा उहाँको आपत्ति छ । 

उहाँले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा एउटा सार्वभौम सत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रका निम्ति यो लज्जाजनक र राष्ट्रिय हित विरोधी सम्झौता भएको उल्लेख छ । लेखिएको छ, ‘गठबन्धन सरकारले गरेको सम्झौताले हामी सम्पूर्ण देशभक्त नेपालीहरुलाई स्तब्ध, आश्चर्यचकित र क्रुद्ध बनाएको छ ।’

उहाँले वामपन्थी नेता पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेलामा यस्तो अनुमति दिनुलाई अकल्पनीय राष्ट्रियता विरोधी सम्झौताको संज्ञा दिनुभएको छ । यसलाई लापरवाहीपूर्ण र राष्ट्रहित विरोधी सम्झौता भन्दै खनालले विज्ञप्तिमा लेख्नुभएको छ, ‘यो नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकारमाथि नै खेलबाडसमेत हो ।’

हिजो भएको उक्त सम्झौतालाई राष्ट्रघाती भन्दै तुरुन्त रद्ध गर्न माग गरिएको छ । नेपाली जनतासँग माफी माग्न, नेपाल तथा नेपाली जनताको स्वतन्त्र र सार्वभौम अधिकारको रक्षा गर्न नेता खनालले आग्रह गर्नुभएको छ ।

टिप्पणीहरू