जयशंकर फर्किए, श्रीवास्तव यतै

जयशंकर फर्किए, श्रीवास्तव यतै
सुन्नुहोस्

नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेश मन्त्री एस जयशंकर स्वदेश फर्किएका छन् । भारतीय वायुसेनाको विमानमा हिजो बिहानै काठमाडौँ ओर्लिएको जयशंकर नेतृत्वको टोली आज मध्यान्ह बैंगलोर प्रस्थान गरेको हो । 

टोलीमा विदेश मन्त्री जयशंकरसँगै मन्त्रालयका निर्देशक सन्दीप कुमार र सहसचिव अतुल जनार्दनन छन् । भ्रमण टोलीमा रहेका विदेश मन्त्रालयका सहसचिव (नर्थ डेक्स) अनुराग श्रीवास्तव भने काठमाडौँमै रहेको बताइएको छ । 

भारतीय पाहुना टोलीको बिदाई गर्न परराष्ट्र मन्त्री एनपी साउद, मन्त्रालयका सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए । 

दुइदिने नेपाल भ्रमणका क्रममा विदेश मन्त्री जयशंकरले आयोगको बैठकमा सहभागी हुनुका अलावा उच्चस्तरीय राजनीतिक भेटघाट र पशुपतिनाथको दर्शन पनि गरे ।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्री साउद, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायत नेताहरुसँग भेटवार्ता गरेका थिए ।

टिप्पणीहरू