राष्ट्रिय सभा चुनावमा एमालेले सबै सिटमा उम्मेदवारी दिने
सत्ता गठबन्धनसँग भागबण्डाको छलफलमा रहेको प्रमुख प्रतिपक्ष नेकपा एमालेले राष्ट्रिय सभाका १९ वटै सिटमा उम्मेदवारी दिने भएको छ ।
पार्टी मुख्यालय च्यासलमा आज बसेको सचिवालय बैठकमा सबै सिटमा उम्मेदवारी दिनेबारे छलफल भएको सो पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए । प्रदेशबाट सिफारिस भएर आएका नामहरुबारे आजको बैठकमा प्रारम्भिक छलफल भएको र थप छलफल गरेर निर्णय लिने उनले बताए ।
राष्ट्रिय सभा चुनावमा तालमेल गर्नेबारे एमालेले सत्तारुढ गठबन्धनसँग पनि छलफल गरिरहेको छ । संक्रमणकालिन न्यायसँग सम्बन्धित टीआरसी विधेयक पारित गर्ने शर्तमा कांग्रेस र माओवादीले एमालेलाई चुनावमा मिलेर जान प्रस्ताव गरेको र एमालेले छ सिट मागेको चर्चा छ । तथापि त्यसमा अहिलेसम्म कुनै सहमति भने भएको छैन ।
माघ ११ गते हुने चुनावका लागि आगामी सोमबार उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।
टिप्पणीहरू