लोकतन्त्रमा मौलाएको खेती !
लोकतन्त्र शासनको एउटा व्यवस्था हो । जनताद्वारा जनताका लागि गरिने शासन प्रणालीलाई लोकतन्त्र भनिन्छ । लोकतन्त्रले राजनीतिक प्रणालीलाई सभ्य बनाउँछ । २०६२–६३ को दोस्रो जनआन्दोलनपछि २०६५ सालदेखि राजसंस्था हटाएर मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो ।
यद्यपि, राजसंस्थाको विरोध गरेर सत्तामा पुग्नेहरुले पनि पुरानै संस्कार अपनाएका छन् । आम सर्वसाधारणले लोकतन्त्रलाई ‘लुटतन्त्र’ को रुपमा परिभाषित गर्न थालेका छन् । नेताहरु भ्रष्ट छन् । नेता बन्ने रहर बोकेकालाई उनीहरुले भ्रष्टाचारी नै बनाएका छन् ।
भ्रष्ट बन्न नचाहनेहरु विदेश पलायन भएका छन् । युवाहरु विवश छन् । विवशताको फाइदा उठाउँदै नेताहरुले युवाहरुलाई कार्यकर्ता बनाए । मुलुकमा गरिबमाथि राजनीति मौलाएको छ । ज्यालामजदूरी गरेर गुजारा गर्दै आएका मजदुरको नाममा व्यापार गरिएको छ ।
भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दाका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपाल बदनाम भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विण्टलका क्विन्टल सुन भित्रिन्छ । सुन तस्कर उम्किन्छन्, जहिले भरिया फस्छन् ।
संयोगले अपराधी पक्राउ परेपनि राज्य सञ्चालकहरुको एक टेलिफोनबाट छुटिहाल्छन् । सञ्चालकको बद्मासीको मूल्य कामदारले चुकाइरहेका छन् । बिहानबेलुका छाक टार्न महाभारत पर्ने ‘लालबहादुर विक’ जस्ता नगरेको गल्तीमा जेल चलान भइरहेका छन् ।
नेपाल न्याय मरेको देशको रुपमा चित्रण भइरहेको छ । न्यायका लागि सडकमा आउनैपर्ने बाध्यता छ । न्यायालय बिक्न थालेको गुनासो आम सर्वसाधारणको छ । यता, सरकारी कार्यालय भ्रष्टाचारको अखडा बनेको छ ।
कामकाज ठप्प पारेर सरकारी कर्मचारी विदेश सयरमा जाने क्रम ह्वात्तै बढेको छ । कर्मचारीहरु विदेश जानमै ध्याउन्न छन् । भ्रमण, सभा, बैठकको नाममा राज्यको ढुकुटी दोहन गर्ने काम भइरहेको छ । निरीहलाई सताएर कर्मचारीहरु राजनीतिक दल र हाकिमको चाकडी गर्नमै व्यस्त छन् ।
सरकारी अड्डा होस् या अदालत, सत्कार्य कतै हुँदैन् । न्याय दिने कुर्सीमा बसेका न्यायाधीश नै चोखो छैनन् । मुलुकलाई विश्वमा चिनाउने सन्दिप लामिछाने र पल शाहजस्तालाई दोहोर्याइ–दोहोर्याइ अनावश्यक मुद्दा लगाएर पतन गराउने खेल चलेको छ ।
आम नागरिकको समस्या ज्यूँको त्यूँ छ । नयाँ–पूराना सबै पार्टीबाट सर्वसाधारण निराश बनेका छन् । सत्ताधारीहरु भ्रष्टाचारीलाई चोख्याउने र एनसेल घोटाला लुकाउने खेलमै मग्नमस्त छन् । जसका कारण सर्वसाधारणको मनमा नेताहरुप्रति घृणा पैदा भएको छ ।
यो विषय त सामाजिक सञ्जालले पनि पुष्ट्याइँ गर्दछ । आफ्ना सामग्रीमा ९८ प्रतिशत गाली बेइज्जतीका कमेण्ट आउँदा पनि नेताहरुलाई फरक परेको छैन ।
टिप्पणीहरू