अस्पतालको मूलगेटमा डाक्टरको नाराबाजी, बिरामीलाई पछाडिको ढोका

अस्पतालको मूलगेटमा डाक्टरको नाराबाजी, बिरामीलाई पछाडिको ढोका

सिनामंगलस्थित केएमसी अस्पतालमा आज पनि नाराबाजी भएको छ । एमडी दोस्रो वर्षमा अध्ययनरत आवासीय डाक्टरको पक्षमा अरुले गत सातादेखि नाराबाजी गर्दै आएका छन् । 

डा.विशद् दाहाललाई अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरमा नगएको आरोप लगाउँदै पुस १२ गतेदेखि एक महिनाको निम्ति निलम्बन गरेपछि चिकित्सा शास्त्र अध्ययनरत अरु विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।

आजको आन्दोलनको नेतृत्व पनि एमडी तेस्रो वर्षमा अध्ययनरत विजय केसीलगायतले गरेका छन् । उनीहरुले काठमाडौं विश्वविद्यालयले दाहालको निलम्बन फुकुवा गर्न निर्देशन दिएपनि अस्पताल प्रशासनले नटेरेपछि आन्दोलन गरेको बताउँदै आएका छन् ।

आज उनीहरुले अस्पतालको मूल गेटमा उभिएर नाराबाजी गरेका छन् । प्रदर्शनकारीहरुले दाहाललाई अस्पताल प्रवेशमा रोक लगाउन नहुने माग पनि राखेका छन् ।

मध्यान्हदेखि गरिएको नाराबाजीका कारण मूलगेटबाट आवतजावत बन्द भएको छ । अस्पतालमा आएका बिरामी र तिनका अभिभावक पछाडिको गेटबाट आवतजावत गरेको बताइन्छ ।                              

प्रदर्शनकारीहरुले  केयुको आदेश लागु गर, केएमसी प्रसासन मुर्दावाद,आवासीय डाक्टर जिन्दावाद, कानुन मिच्न पाईंदैन, गेटको गुन्डा खाली गर, सुनिल शर्मा मुर्दावादलगायत नारा लगाएका छन् ।

 

टिप्पणीहरू