भन्सार छलेर ल्याइएको २९ लाख बराबरको औषधिसहित दुई जना पक्राउ

भन्सार छलेर ल्याइएको २९ लाख बराबरको औषधिसहित दुई जना पक्राउ

भन्सार छलेर नेपाल भित्र्याइएको ठूलो परिमाणको औषधि प्रहरीले नवलपरासीबाट बरामद गरेको छ । 

 आज बिहान भारतीय सीमासँग जोडिएको प्रतापपुर गाउँपालिका–९ चण्डालटोल नाकाबाट औषधीसहित २ जना समातिएका छन् । पक्राउ पर्नेहरुमा गोरखाको गण्डकी गाउँपालिका–४ का ३० वर्षीय विवेक पोखरेल र बाग्लुङको बडिगाड गाउँपालिका– ५ का २९ वर्षीय अभिषेक खरेल हुन् । 

उनीहरुले भन्सार छलेर ल्याउदै गरेको २९ लाख बराबरको ६ पेटी औषधी बरामद गरेको प्रहरीले जनाएको छ । प्रदेश नं.३,०१–००२ च ८९९६ नम्बरको कारभित्र लुकाएर ल्याएको पेटीमा विभिन्न मंहगा औषधीसहित सर्जिकल सम्बन्धीका सामानहरु पनि रहेको जनाइएको छ । 

पोखरेल र खरेलले काठमाडौंको टिचिङ अस्पताल अगाडि रहेको आफ्नै मेडिकलमा लैजानका लागि ति औषधी ल्याएको खुल्न आएको छ । बरामद औषधीसहित कार र संलग्न व्यक्तिलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू