हप्ता दिनमा मेलम्चीको पानी ल्याउन चीनलाई पेलान

हप्ता दिनमा मेलम्चीको पानी ल्याउन चीनलाई पेलान
सुन्नुहोस्

छिट्टै परिणाम चाहिने, तर त्यसअनुसारको व्यवस्थापन नगर्ने । आम नागरिक,कर्मचारीतन्त्र हुँदै सरकारको नेतृत्व गर्नेहरुसम्म यही मानसिकताबाट ग्रस्त छन् । अहिले यस्तो प्रवृत्तिको शिकार बनिरहेको छ - मेलम्ची खानेपानी आयोजना । 

२०४८ सालमा कृष्णप्रसाद भट्टराईले परिकल्पना गरेको मेलम्ची परियोजना २०५६ देखि निर्माण शुरु भएको थियो । तर, सरकारी उदासिनताका कारण निर्माण शुरु भएको साढे दुई दशक बितिसक्दा पनि मेलम्चीको पानी काठमाडौँ ल्याउने कुरा 'कमिलालाई ...... पहिरो भनेजस्तै भैरहेको छ । 

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जनवरी १५ भित्र पानी काठमाडौँ झार्न दिएको निर्देशन पनि सरकारकै कारण पूरा नहुने भएको छ । सरकारले बाँकी भुक्तानी नदिएको भन्दै चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले आजदेखि काम रोकेपछि यस्तो अवस्था आएको हो । एकातिर अवस्था यस्तो छ भने अर्कातिर चिनियाँ पक्षलाई दिनहुँ परराष्ट्रमा बोलाएर एक हप्ताभित्र काम सक्न दवाव दिइँदैछ ।

यसअघि सन् २०२१ को जनवरीमा आएको बाढीले त्यहाँ कार्यरत ६ जना चिनियाँ नागरिक बगाएकोमा एक जना अझै बेपत्ता छन् । त्यस्तो प्रतिकूलतामा पनि काम नरोकेको कम्पनीले अहिले भने भुक्तानी  नपाएसम्म काम अघि नबढाउने अडान लिएको छ । 

सात वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ निर्माण थालिएको मेलम्ची परियोजनाको काम २२ वर्षपछि २०७७ सालमा सम्पन्न भएको थियो । तर,दुई वर्षअघि मेलम्चीको मुहानमा आएको बाढीले हेडवर्क्समा क्षति पुर्याएपछि गत वर्षदेखि पानी पथानान्तरण पूर्णरुपमा बन्द भएको छ । 

वर्षौको प्रतिक्षापछि आएको पानी पुन:बन्द भएपछि काठमाडौँ उपत्यकावासी दिनहुँ आन्दोलन गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि मेलम्ची खानेपानी विकास समितिले पुस ४ गते २८ दिनभित्र पानी ल्याएरै छाड्ने प्रतिवद्धता जनाएको थियो । तर, ठेकेदारले कामै ठप्प पारेसँगै सो अवधिमा पानी आउने सम्भावना लगभग सकिएको छ ।

टिप्पणीहरू