कोशीका सभामुख विष्टद्धारा राप्रपाबाट अलग भएको घोषणा
कोशी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता अम्बरबहादुर विष्टले पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।
राप्रपाका केन्द्रीय सदस्य रहेका उनले सभामुख पदमा रहुन्जेल पार्टीको सबै पदीय जिम्मेवारीबाट अलग रहने घोषणा गरेका हुन् । उनले आज पार्टी केन्द्रीय कार्यालयलाई पत्र पठाएर सोबारे जानकारी गराएको बताएका छन् ।
पत्रमा भनिएको छ, ‘मिति २०८०-०९-२४ गते कोशी प्रदेशसभाले मलाई सभामुखको रुपमा निर्वाचित गराएकोले पदीय मर्यादा कायम राख्दै सो पदमा रहुन्जेल पार्टीको कुनै पनि पदमा बस्न नमिल्ने भएकोले पार्टीको सबै पदीय जिम्मेवारीबाट अलग रहेको व्यहोरा निवेदन गर्दछु ।’
कोशीमा सभामुख पाएको राप्रपामा यसबारे चर्को बिबाद छ । राप्रपाको निर्देशक समितिले यसअघि विष्टलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो ।
टिप्पणीहरू