सानाका दुःख, मेसोमेलो पक्रन खोज्दै ठिक्क !

सानाका दुःख, मेसोमेलो पक्रन खोज्दै ठिक्क !
सुन्नुहोस्

कांग्रेस र माओवादीसँग मिलेर आफ्नो पार्टीलाई 'कर्नर' पार्ने एमाले अध्यक्षको प्रयास सफल नभएको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको दाबी रहेपनि राष्ट्रिय सभा निर्वाचनमा सीट बाँडफाँटलाई लिएर सो पार्टीभित्र असन्तुष्टि चर्किएको चर्चा छ । नेतृत्वले पर्याप्त पहल नगरेका कारण दुई सीटमा खुम्चिनु परेको भन्दै सो पार्टीका नेताहरु असन्तुष्ट भएका हुन् । 

१९ सीटका लागि हुन लागेको निर्वाचनमा एकीकृत समाजवादीले तीन सीट पाउनुपर्ने दाबी गरेको थियो । तर, सरकारको नेतृत्वकर्ता माओवादी केन्द्र र गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले दुई सीटमात्र भाग लगाएपछि पार्टीको बैठकमा नेतृत्वको चर्को आलोचना भएको बताइन्छ । 

उम्मेदवारका केही आकांक्षीहरुले त तत्कालै सरकारबाट फिर्ता हुनुपर्ने तहमा पुगेर धारणा राखेको बुझिएको छ । यद्यपि हिजोको सचिवालय बैठकले गठबन्धनका उम्मेदवारलाई जिताउन सिङ्गै पार्टीपंति परिचालित हुने निर्णय गरेकाले नेताहरुका निजि असन्तुष्टिले संस्थागत रुप लिन भने सकेन । 

जानकार स्रोतका अनुसार राष्ट्रिय सभामा जान रहर गर्नुभएका पूर्वप्रधानमन्त्री तथा सम्मानित नेता झलनाथ खनाल पक्षीय नेताहरु अहिले पनि सरकारबाट फिर्ता हुनुपर्ने अडानमा छन् । त्यसो त, खनाल आफैँले सार्वजनिक मंचबाटै गठबन्धन र सरकारको विपक्षमा बोल्दै आउनुभएको छ ।

पार्टी सदन र सरकारको मोर्चामा बढी केन्द्रित हुँदा सडक गतिविधि शून्य अवस्थामा रहेको र त्यसले जनतासँगको सम्बन्ध पातलिंदै गएको चर्चासमेत बैठकमा भयो । 

तर, अध्यक्ष माधव नेपाल पक्षका नेताहरुले भने अहिलेको परिवेशमा सडक, सदन र सरकार तीनववटै मोर्चालाई उपयोग गरेर जानुपर्ने बताउँछन् । र, यी मोर्चामा पार्टी कसरी लडिरहेको छ भन्ने विषयमा भने समीक्षा हुनुपर्ने उनीहरुको पनि धारणा छ । पार्टीभित्र यसबारे गहन रुपमा छलफल चलाउनुपर्ने तर, एकले-अर्कालाई दोष दिएर नेतृत्व पानीमाथिको ओभानो हुन नसक्ने भन्दै ति नेताहरु बैठकमै चर्किएको बताइन्छ । 

बैठकमा सरकार र राजनीतिक दलहरुप्रति जनतामा चरम निराशा बढिरहेकाले सडकबाट समस्या उठाउन सके त्यसले सकारात्मक प्रभाव पार्ने विषयमा पनि छलफल भएको थियो । तथापि पार्टी सदन र सरकारको मोर्चामा बढी केन्द्रित हुँदा सडक गतिविधि शून्य अवस्थामा रहेको र त्यसले जनतासँगको सम्बन्ध पातलिंदै गएको चर्चासमेत बैठकमा भयो । सदनमा अध्यक्ष नेपालले नै नेतृत्व गरेपनि संसदिय गतिविधि प्रभावकारी नभएको भन्नेहरु पनि बैठकमा देखिए  । 

पार्टीको तर्फबाट सरकारको मोर्चामा गएकाहरुले प्रभावकारी काम नगरेको विषयमा पनि बैठकमा छलफल भएको बताइन्छ । कृषि मन्त्री बेदुराम भुसालले कृषि क्षेत्रको रुपान्तरका लागि नयाँ कामको थालनी गर्न नसकेको साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पूर्वाधार विकासमा देखिने काम नगर्दा पार्टीलाई नकारात्मक प्रभाव पारेको विषयमा चर्चा भएको थियो । 

त्यस्तै, पार्टीका गतिविधिले कार्यकर्तापंतिमा उत्साह जगाउन नसकेको ठहर गर्दै कार्यनीति समीक्षा गर्नुपर्ने राय पनि केही नेताहरुले बैठकमा राखेको बताइन्छ ।

टिप्पणीहरू