उम्मेदवारको नाम सार्वजनिक गर्दै सत्ता गठबन्धनद्वारा भोट हाल्न अपील
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रियसभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन अपील गरेका छन् ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनमा आवद्ध सात पार्टीका शीर्ष नेताहरुको बैठकले गठबन्धनको तर्फबाट उठेका उम्मेदवारहरूलाई जिताउन संयुक्त आह्वान गरेको हो । बैठकपछि संयुक्त वक्तव्य सार्वजनिक गर्दै राष्ट्रिय सभा चुनावका क्रममा गठबन्धनलाई कम्जोर बनाउने गतिविधि हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहन पनि मतदाताहरुलाई आग्रह गरिएको छ ।
साथै, राष्ट्रिय सभा चुनाव गठबन्धनलाई थप संगठित बनाउंदै मुलुकमा राजनीतिक स्थायित्वको सुनिस्चितता गर्ने महत्वपूर्ण अवसर हुने वक्तव्यमा उल्लेख छ ।
‘राष्ट्रियसभाको निर्वाचन सम्पन्न हुँदै छ। निर्वाचनका लागि गठबन्धनको तर्फबाट प्रस्तुत उम्मेदवार हामी सबैका साझा उम्मेदवार हुन् । राष्ट्रियसभा निर्वाचनको क्रममा हाम्रो गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्दछन् । यो निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनितिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि हो ।’
वक्तव्यमा प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ, लोसपा अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गरेका छन् ।
आगामी माघ ११ गते १९ सीटका लागि हुने निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका १०, माओवादी केन्द्रका ६, एकीकृत समाजवादीका २ र जसपाका १ जना उम्मेदवार छन् ।
टिप्पणीहरू