राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू
आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगको पुस २९ को निर्णयअनुसार आजदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू भएको हो ।
आयोगले विज्ञप्ति जारी गर्दै निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) अनुसार आजदेखि माघ १२ गतेसम्म निर्वाचन आचारसंहिता लागू गरेको जनाएको छ । आचारसंहिताको दफा १ मा उल्लेख भएबमोजिम निर्वाचन सम्पन्न नभएसम्म सबै व्यक्ति, निकाय तथा अधिकारीलाई संहित लागू हुनेछ ।
सो अवधिभर कुनै सार्वजनिक स्रोतसाधन र सम्पत्ति दल वा उम्मेदवारको पक्ष–विपक्षमा हुने गरी प्रयोग गर्न नपाइने आयोगले स्पष्ट पारेको छ । त्यसैगरी, निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन नपाइने पनि आचारसंहितामा उल्लेख छ ।
सो अवधिभर कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने, राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित कुनै सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने आयोगले जनाएको छ ।
त्यसैगरी ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन तथा बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन पनि पाइने छैन।
टिप्पणीहरू