अघिल्लो दिन श्रीमान बिते, भोलिपल्ट श्रीमती

अघिल्लो दिन श्रीमान बिते, भोलिपल्ट श्रीमती
सुन्नुहोस्

धनुषामा हिजो मृत भेटिएका राधे सहनीकी श्रीमतीको आज मृत्यु भएको छ । घाइते अवस्थामा फेला परेकी २० वर्षीया अस्मिता शर्माको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

श्रीमान राधे हिजो बिहान धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३, पकडियास्थित सडक छेउको गहुँ खेतमा मृत फेला परेका थिए । उनीहरुले चार महिनाअघि प्रेम विवाह गरेका थिए ।

विवाहपछि दुवै क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा डेरा गरी बस्दै आएको बताइन्छ । प्रहरीका अनुसार राधे अस्ति राति मोटरसाइकलमा श्रीमतीसहित ससुरालीबाट डेरामा फर्कंदै थिए । हिजो बिहान ससुरालीबाट करिब डेढ किलोमिटरको दूरीमा उनी मृत भेटिएका हुन् ।

घाइते अवस्थामा भेटिएकी अस्मितालाई स्थानीयले माइतीमा पुर्याइदिएका थिए । माइतीले अस्मितालाई उपचारको निम्ति अस्पतालमा भर्ना गरेका हुन् । राधे मृत भेटिएको स्थानमा मोटरसाइकल दुर्घटनाको संकेत देखिए पनि मोटरसाइकल नभेटिएको प्रहरीले जनाएको छ । 

घटनामा राधेकै साथीहरुको संलग्नता हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनका साथीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू