रेलभित्र ढलेका पण्डितको तत्काल मृत्यु

रेलभित्र ढलेका पण्डितको तत्काल मृत्यु

महोत्तरीको भंगहाबाट जयनगरतर्फ गुडिरहेको रेलमा यात्रारत एक यात्रुको मृत्यु भएको छ । महोत्तरीको लोहरपट्टी नगरपालिका–४ खुट्टापिपराढीका ५० वर्षीय रामएकवाल पण्डितको तत्काल मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवालले कुर्था र जनकपुर रेल्वे स्टेसनको बीचमा बिहान करिब ९ बजेको समयमा रेलभित्रै अचानक उनको मृत्यु भएको बताए । 

पण्डित लोहारपट्टीबाट रेलमा चढेका थिए । ‘टिटी (रेलको कन्डक्टर) ले पैसा मागेपछि उनी उठेका थिए । पैसा निकाल्ने क्रममा अचानक ढलेपछि उनको मृत्यु भएको हो,’ डिएसपी अवालले भने । 

मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू