कोठा र जागिर खोजिदिने नाममा ठगी, नियमन शून्य

कोठा र जागिर खोजिदिने नाममा ठगी, नियमन शून्य

काठमाडौं उपत्यकामा बसोबासको निम्ति भाडाको कोठा पाउन निकै गाह्रो छ । रोजगारी, पढाइ, सेवासुविधा खोज्दै मुलुकभरबाट मानिसहरु काठमाडौं ओइरिएका छन् । जसले गर्दा काठमाडौंमा कोठाभाडा अचाक्ली मँहगो छ भने कोठा पाउन महाभारत । महँगो शुल्क तिर्दापनि आफूलाई पायक पर्ने ठाउँमा र चाहिएकोजस्तो कोठा पाउन निकै कठिन छ । 

महिनौं भौतारिँदा पनि कोठा पाइँदैन । हिजोआज प्रायः घरमा एउटा कोठा दिन छोडिएको छ । व्यस्तताका कारण कोठा खोज्न नभ्याउनेहरुको छुट्टै समस्या छ । यसको फाइदा उठाउँदै काठमाडौंमा कोठा खोजिदिनेहरु सल्बलाएका छन् । सामाजिक सञ्जालमा ‘रुम फाइन्डर’ पेज छ्याप्छ्याप्ती भेटिन्छन् । केही खाली कोठाको तस्बिर पोष्ट गरेर तिनले ठगीधन्दा चलाएका छन् । तर, नियमन भने शून्य छ । 

भक्तपुरको सूर्यविनायक बस्दै आएकी उर्मिला केसीलाई बानेश्वर एरियामा कोठा चाहिएको थियो । त्यतै जागिर भएकी उनलाई आउन–जान टाढा भइरहेको थियो । उनी कोठा सर्ने तयारीमा थिइन् । केही दिन खोजिन् तर भनेजस्तै कोठा पाइनन् । त्यसपछि उनले सामाजिक सञ्जालमा रहेको ‘रुम फाइन्डर’ को नम्बरमा फोन गरिन् । 

त्यताबाट पाएको जवाफले उनी दंग परिन् । पहिले नै पाँच सय रुपैयाँ तिरेर फाराम भर्नुपर्ने र कोठा देखाएपछि तीन हजार रुपैयाँ सर्भिस चार्ज तिर्नुपर्ने भनेपछि उनी पछि हटिन् । उनी भन्छिन्, ‘मैले के रहेछ भनेर फोन गरे । पहिले पाँच सय रुपैयाँको फाराम भर्नुपर्ने, त्यो फाराम एक महिनासम्म मान्य हुने, एक महिनासम्म कोठा भेटिएन् भन्ने पैसा फिर्ता नहुने र कोठा मिल्यो भने तीन हजार रुपैयाँ सर्भिस चार्ज तिर्नुपर्ने भनेपछि मैले भयो भने । कोठा खोज्ने नाममा ठगीधन्दा मौलाएको छ ।’

कलेज पढ्दै काम पनि गरिरहेका चितवनका सञ्जीव दराई कोठाको खोजीमा थिए । चाबहिल बस्दै आएका उनलाई शान्तिनगरमा कोठा चाहिएको थियो । बिहान कलेज पढ्न चाबहिलबाट शान्तिनगर आउन सास्ती हुने भएकाले उनी कलेज वरपर नै कोठा खोज्दै दिए । गत वैशाखको कुरा हो, उनी केही दिन आफैं घर–घर चहारेपनि । कोठा खोज्न दिनदिनै आफैं हिँड्न नभ्याउने भएपछि उनले एउटा ‘दलाल’ लाई एक हजार पाँच सय रुपैयाँ बुझाए । 

‘दलाल’ ले एकदुई वटा कोठा देखाए पनि । तर, देखाइएकामध्ये एउटापनि कोठा उनलाई गतिलो लागेन । त्यसपछि ‘दलाल’ ले फोन उठाउनै छोडिदिए । पछि उनको फोन नम्बर नै ब्लक गरिदिए । उनले भने, ‘कोठा खोज्ने नाममा लुट मच्चिएको छ । न कोठा पाए, न पैसा । पहिले एक दुई वटा कोठा देखाएका थिए । एउटा कोठा निकै अँध्यारो थियो, त्यसैले हुँदैन भनेँ । अर्को ठाउँ अलि टाढा लाग्यो । अरु पनि देखाउनु न भनेको थिएँ । त्यसपछि त फोन नै उठाउन छोडिदिए । मैले फोन गरिरहेपछि नम्बर नै ब्लक गरिदिए ।’

पछिल्लो समय कार्यालय नै खोलेर कोठा खोज्ने नाममा गोरखधन्दा चलाइएको छ । समाजसेवाको नाम दिएर लुटको धन्दा मच्चाइएको छ । कोठा खोज्ने अफिस, कोठा खोज्ने पसल, रुम फाइन्डर अफिस, रुम फाइन्डर जडीबुटी अफिस, ई–रेन्टल सर्भिसलगायत फर्मले कोठा खोज्ने काम गर्दै आएको छ । फर्महरुले सामाजिक सञ्जालमा थुप्रै कोठाका तस्बिर पनि पोष्ट गरेका छन् । तर, यी फर्मको शुल्क सुनेर कोठा लिनेको सातो जान सक्छ । 

काठमाडौंको आलोकनगरमा रहेको ‘कोठा खोज्ने पसल’ नामको फर्मले कोठा खोजिदिने काम गर्छ । सामाजिक सञ्जालमा पनि कोठाहरुको व्यापक प्रचारप्रसार गरिरहेको देख्न सकिन्छ । फर्मको नम्बर ९८६६२९०१९२ मा सम्पर्क गर्दा त्यहाँको कर्मचारीले फोन उठाए । उनका अनुसार कोठा खोज्नका लागि शुरुमै पाँच सय रुपैयाँ तिरेर फाराम भर्नुपर्छ । 

उक्त फारामको म्याद एक महिनासम्म रहेको र त्यतिबेलासम्म कोठा नपाइएमा पुनः पाँच सय रुपैयाँ तिरेर फाराम भर्नुपर्ने उनले बताए । भने, ‘शुरुमा अफिसमा आएर पाँच सय रुपैयाँको फाराम भर्नुहोस् । त्यसपछि हामीले ब्रोकरहरु लगाएर कोठा खोज्छौं । कोठा पाएपछि उहाँहरुले हेर्न बोलाउनुहुन्छ । एक महिनाभित्र पाइएन भने फेरि फाराम भर्नुपर्छ ।’

कोठा मनपर्यो भने सर्भिस चार्जबापत छुट्टै पैसा तिर्नुपर्ने उनी बताउँछन् । एउटा कोठाको सर्भिस चार्ज दुई हजार रुपैयाँ र त्यसपछि कोठाअनुसार बढ्दै जाने छ । यता, जडीबुटीमा रहेको ‘रुम फाइन्डर जडीबुटी अफिस’ ले पनि शुरुमा पाँच सय रुपैयाँको फाराम भर्नुपर्ने जनाएको छ । एउटा कोठाको दुई हजार, दुई वटाको तीन हजार र फ्ल्याटको चार हजार रुपैयाँ सर्भिस चार्ज लाग्ने फर्मको भनाइ छ । 

सामाजिक सञ्जालमा भएको फोन नम्बर ९८१३३२१५३५ मा सम्पर्क गर्दा एक कर्मचारी भने,‘फर्मको पाँच सय हो । एक महिनासम्म मान्य हुन्छ । सो अवधिमा तोकिएको स्थानमा कोठा पायो भने हामी देखाउँछौं । तिरेको पैसा रिफण्ड हुँदैन् । कोठा मनपर्यो भने दुई हजार रुपैयाँ सर्भिस चार्ज तिर्नुपर्छ । काठमाडौंमा कोठा पाउनै गाह्रो छ ।’

ब्रोकरले रुम मनपर्नेबित्तिकै पैसा लिन्छन्, अनि मात्र घरधनी भेटाउँछन् । घरधनीलाई कोठामा बस्ने मनपरेन भने कोठा दिँदैनन् । ब्रोकरले लिइसकेको पैसा फिर्ता गर्दैनन् । सामाजिक सञ्जालमा राखेजस्तो कोठा नपाइने आम सर्वसाधारणको गुनासो छ । 

जागिर खोज्ने नाममा ठगी 

सामाजिक सञ्जालमा कोठासँगै जागिर खोजिदिनेहरुको पनि बिगबिगी छ । आकर्षक तलब देखाएर जागिरको विज्ञापन गरिएको हुन्छ । जसमा फोन नम्बर पनि राखिएको हुन्छ । पेपर कटिङ्गका लागि २५ देखि ३० हजार रुपैयाँ तलब राखेर गरिएको विज्ञापन सामाजिक सञ्जालमा अनगिन्ती भेटिन्छन् । तर, ती सब ‘फेक’ हुन् । ‘जब’ दिने भन्दै लुट्ने काम मौलाएको छ । 

कोटेश्वरमा जागिर खोजिदिने ‘कोठा जागिर खोज्ने अफिस’ छ । त्यहाँ पनि कोठा खोज्ने अफिसकै सिस्टम छ । पहिले पाँच सय रुपैयाँको फर्म भर्नुपर्ने र जागिर देखाएपछि तीन हजार रुपैयाँ लिने गरेका छन् । जागिर मन नपरेमा कुनै पनि रकम फिर्ता नहुने त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन् । यसरी कोठा र जागिर खोजिदिने नाममा सोझासाझीलाई फसाउने गरिएको छ । 

कोठा र जागिर खोजी ठगीको सजिलो माध्यम बनेको छ । तर, सरोकारवाला निकायको यसतर्फ ध्यान जान सकेको छैन । 

के भन्छ काठमाडौं महानगर ? 

काठमाडौं महानगरपालिकाको राजश्व विभाग प्रमुख ध्रुव काफ्ले अधिकांश कोठा–जागिर खोज्ने कार्यालय दर्ता नभई सञ्चालनमा रहेको बताउँछन् । केही महानगरको आर्थिक ऐनअनुसार दर्ता भएको उनले जानकारी दिए । सामाजिक सञ्जालमा लोकेसन राखेपनि त्यो ठाउँमा कार्यालय नै नहुने उनको भनाई छ । 

‘केही मात्र दर्ता भएका छन् । अधिकांश बिनादर्ता सञ्चालनमा छन् । पछिल्लो समय सामाजिक सञ्जालमा यस्ता विज्ञापन धेरै देखिन्छ । हामीले लोकसेनमा गएर खोज्यौं तर त्यहाँ त्यस्तो कुनै पनि कार्यालय भेटिएन’, उनले भने । यता, महानगरले कोठा वा जागिर खोजिदिने भन्दै ठगेको उजुरी परेमा कारबाही हुने जनाएको छ ।

टिप्पणीहरू