आफै प्रयास गर्दैछन् संरचना खोज्न र अभ्यास स्थल खोज्न क्रिकेटरहरु

आफै प्रयास गर्दैछन् संरचना खोज्न र अभ्यास स्थल खोज्न क्रिकेटरहरु
सुन्नुहोस्

-अमृत बास्कुने

अहिले नेपालमा अलिक बढी चर्चा हुने खेल भनेको क्रिकेट हो । म्याग्दी जिल्लामा क्रिकेट खेल्नका लागि प्रयाप्त पूर्वाधार निर्माण हुन नसक्दा स्थानीय क्रिकेटप्रेमीहरुले नै आफ्नै प्रयासमा मैदान जोहो गर्ने देखि लिएर संरचना निर्माणमा पनि जुट्न थालेका छन् । सदरमुकाम बेनी र आसपासका क्रिकेट सँग रुचि राख्ने युवाहरुले बेनी नगरपालिका–५ चुत्रेनीमा रहेको मैदानमा क्रिकेट खेल्नका लागि पुग्ने गरेका छन् । खेलाडीहरुकै अगुवाइमा बेनी बजारको खुल्ला मञ्चमा क्रिकेट अभ्यासका लागि नेट समेत तयार गरीएको छ ।

सदरमुकाममा रहेको एक मात्रै मैदानमा भलिबल, फुटबल तथा अन्य सबै प्रकारका खेलका खेलाडीले अभ्यास गर्ने हुँदा क्रिकेटका लागि स्थान अभाव हुने भएकाले चुत्रेनी पुग्ने गरेको क्रिकेट संघ म्याग्दीका सचिव छवि आचार्यले बताउनुभयो । मेला पर्व तथा राजनैतिक तथा अन्य कार्यक्रमका लागि पनि एउटा मात्रै खुल्ला चौर भएको हुनाले पनि खेलाडीहरुको सँधै सहज पँहुच नहुने भएकाले क्रिकेट खेलाडीहरु सदरमुकाम भन्दा बाहिरको मैदान खोजेर खेल्ने गरेको उहाँको भनाई छ । बेनीमा अभ्यास गर्ने र खेल खेल्नका लागि कि बेनी नगरपालिका–१ रत्नेचौर वा बेनी नगरपालिका–५ चुत्रेनीका खेलाडीहरु पुग्ने गरेको सचिव आचार्यले जानकारी दिनुभयो । अभ्यास गर्नका लागि बेनीमा हामीले नेट निर्माण गरेका छौं, हरेक दिन बिहान बेलुकामा बेनीमा अभ्यास गर्ने गरेको र बिदाको समयमा गेम खेल्ने गरेका छौं उहाँले भन्नुभयो ।

– बेनी नगरपालिका–५ चुत्रेनीमा पुगेर दुई टिम बाँडीएर खेल्दै खेलाडीहरु ।

क्रिकेट संघ म्याग्दीका अध्यक्ष प्रविण पौडेलका अनुसार हाल बेनी बजार वरपर मात्रै नियमित अभ्यास गर्ने खेलाडीहरु २०–२५ जना रहेका छन् । बलिङ तथा ब्याटिङ दुवै क्षेत्रमा राम्रो सम्भावना भएका खेलाडीहरु बेनीमा छन् तर नेटमा अभ्यास गर्ने गरेको भए पनि खेल एक्सपोजरका लागि अलिक बढी समय लाग्ने र नजिकमा खेल मैदान नहुँदा समस्या भएको उहाँले सुनाउनुभयो । हामी बेनीमा निर्माण गरिएको नेटमा अभ्यास त धेरै नै गर्ने गरेका छौं तर खेल्नका लागि एक्सपोजरका लागि भने अहिले हामीलाइ मैदान अभाव छ । कि चार किलोमिटर पश्चिम चुत्रेनी पुग्नु पर्छ कि ८ किलोमिटर पूर्व रत्नेचौर अलिक समस्या छ तर हामीले प्रयास  गरेकै छौं–पौडेलले भन्नुभयो ।

– बेनी बजारको खुल्ला मञ्चमा ८५ हजार लागनमा निर्माण गरिएको क्रिकेट अभ्यास नेटमा अभ्यास गर्दै खेलाडीहरु ।

राज्यको तर्फबाट हुन्छ हुदैन भनेर पर्खने भन्दा पनि आफै खेलाडीहरुले श्रमदान गरेर बेनी बजारको खुल्लामञ्चमा क्रिकेट अभ्यासका लागि नेट तयार गरेको खेलाडी दिपक बिकको भनाई छ । क्रिकेट संघमा रहनु भएका टिम पनि अहिले खेल्ने खेलाडीहरु नै प्रयाप्त भएको कारणले गर्दा पनि नेट तयार गर्न सहज भएको उहाँले बताउनुभयो । संघका पदाधिकारी तथा खेलाडीहरुले गरेको श्रमदान बाहेक ८५ हजार रुपियाँ खर्च लागेको क्रिकेट संघका अध्यक्ष पौडेलले बताउनुभयो ।

अहिले बेनीमा अभ्यास गर्ने गरेका सुरज भट्टराइ, सन्दिप बानियाँ, पवन, प्रविण पौडेल, छवि आचार्य लगायत नियमित खेल्ने पनि गर्नुहुन्छ । नियमित अभ्यास र केही एक्सपोजर पाएको खण्डमा राम्रो खेल प्रतिभा निस्कन सक्ने संघका अध्यक्ष पौडेलको भनाई छ ।

 

टिप्पणीहरू