प्रहरी समायोजनको प्रक्रिया टुंग्याउन १५ दिनको समय

प्रहरी समायोजनको प्रक्रिया टुंग्याउन १५ दिनको समय
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी समायोजनको प्रक्रिया छिटो टुंग्याउन निर्देशन दिनुभएको छ ।

आज बिहान बालुवाटारमा भएको सरोकारवालाहरुसंगको छलफलमा उहाँले प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको जनाउँदै १५ दिनभित्र काम सक्न निर्देशन दिनुभएको हो । सङ्घीय कानुन नबन्दा संघीयता कार्यान्वयनमा जटिलता थपिएको र त्यसैमा खेलेर विरोधीहरुले व्यवस्थामाथि नै प्रश्न उठाइरहेकोप्रति गम्भीर हुन पनि प्रधानमन्त्रीको आग्रह छ । 

'सङ्घीयता कार्यान्वयन जुन रफ्तारका साथ हुनुपर्ने हो, त्यसो हुन सकेको छैन । त्यसको प्रत्यक्ष प्रभाव प्रदेशहरूलाई परिरहेको छ । यसले एकातर्फ प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएका छन्, अर्कोतर्फ यसैलाई बहाना बनाएर सङ्घीयता विरोधीहरूले सङ्घीयता र प्रदेश सरकारमाथि हमला गरिरहेका छन् । त्यसैले ऐनअनुसार समायोजनको काम १५ दिनभित्र टुंगाउनुस्', उहाँले भन्नुभयो ।

प्रहरी समायोजनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाएको सो बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मन्त्रीहरू, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुंवर, गृह मन्त्रालयका अधिकारीहरू सहभागी थिए ।
 

टिप्पणीहरू