संसदको हिउँदे अधिवेशनले विजनेस नपाउने सम्भावना
संघीय संसदको आगामी हिउँदे अधिवेशनमा पनि विजनेसको अभाव हुने देखिएको छ ।
प्रतिनिधि सभामा निर्माण व्यवसायसँग सम्बन्धित एउटा विधेयकमात्रै दर्ता भएकाले आगामी अधिवेशनले विजनेस नपाउने सम्भावना देखिएको हो । राष्ट्रिय सभामा हालसम्म कुनैपनि नयाँ विधेयक दर्ता नभएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
अहिले प्रतिनिधि सभामा विद्युतीय व्यापार विधेयक, राष्ट्रिय मर्यादासँग सम्बन्धित विधेयक र सम्पती शुद्धीकरणसँग सम्बन्धित विधेयक गरेर ३ वटा मात्रै विधेयक अगाडि बढ्नसक्ने अवस्थामा रहेको उनको भनाई छ । त्यस्तै, राष्ट्रिय सभामा पनि विधायनसम्बन्धि विधेयक २०८०, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धि विधेयक समितिहरुमा विचाराधिन अवस्थामा रहेको र अध्यागमन विधेयक पूर्ण सभामा अड्किएर रहेको पनि प्रवक्ता गिरीले बताए ।
उनका अनुसार नयाँ विधेयकहरु दर्ता नभएका कारण आगामी हिउँदे अधिवेशनमा पनि विजनेसको अभाव हुने निश्चित छ ।
यसअघि वर्षे अधिवेशनमा पनि सरकारले संसदमा बिजनेस नदिएको भन्दै सांसदहरुले नै असन्तुष्टि व्यक्त गरेका थिए । प्रवक्ता गिरीले प्रतिनिधि सभाका विभिन्न समितिहरुमा १२ वटा विधेयकहरु रहेको र त्यसले आफ्नो प्रतिवेदनहरु छिटो बुझाएको अवस्थामा कानून बन्ने प्रक्रियामा जाने बताए ।
उनले भने,‘अहिले राष्ट्रिय सभामा खासगरी समितिमा दुई वटा विधेयक छन् । र एउटा विधेयक सभामा विचाराधिन छ । खासगरी विधायनसम्बन्धि विधेयक २०८० अनि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धि विधेयक यो चाहीँ राष्ट्रिय सभाको समितिमा विचाराधिन छ । र अध्यागमन विधेयक चाहीँ राष्ट्रिय सभामा नै विचाराधिन अवस्थामा रहेको छ ।
संघीय संसद सचिवालयकाअनुसार संसदमा विजनेस अभाव हुन नदिनका लागि कम्तिमा १५ दिनको कार्यतालिका बनाएर संघीय संसदको दुवै सदनको बैठक सञ्चालन गर्ने विषयमा पनि सभामुख देवराज घिमिरे आफैँले छलफल शुरु गरेका छन् । सभामुख घिमिरे र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो विषयमा छलफल अघि बढाएका हुन् ।
यसअघि एउटा मात्र विधेयक पारित गरेर वर्षे अधिवेशन अन्त्य भएको थियो । सरकारले माघको तेस्रो साता संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ ।
टिप्पणीहरू