सरकारविरुद्ध एमाले, प्रतिगमनविरुद्ध आन्दोलन

सरकारविरुद्ध एमाले, प्रतिगमनविरुद्ध आन्दोलन

लोकतन्त्र र संविधानको रक्षाका लागि नेकपा एमाले कोशी प्रदेश कमिटीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । भदौ २३ गतेको प्रदर्शन र २४ गतेको जेन–जी विध्वंशपछि गठित कार्की नेतृत्वको सरकार असंवैधानिक भएको र एमालेविरुद्ध प्रतिगामी कदम चालिएको आरोप लगाइएको छ ।

एमाले कोशी प्रदेश कमिटीले विराटनगरको पाँचालीस्थित एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको छ । एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले वर्तमान सरकारले एमालेविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

अध्यक्ष खतिवडाले लोकतन्त्र र संविधान रक्षाका लागि प्रतिनिधिसभा पुनःस्थापनाको माग अघि सार्दै आन्दोलनमा उत्रनुपरेको बताए । उनका अनुसार जननिर्वाचित सरकार अपदस्थ गर्ने प्रयास, असंवैधानिक सरकार गठन तथा प्रतिनिधिसभा विघटनजस्ता कदमहरू प्रतिगामी हुन्।

एमाले कोशी प्रदेश कमिटीले यस्ता प्रतिगामी कदमविरुद्ध देशव्यापी आन्दोलन र संघर्षलाई निरन्तरता दिने जनाएको छ। साथै लोकतन्त्रप्रेमी राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, मानवअधिकारकर्मी, उद्योगी–व्यवसायी, युवा तथा विद्यार्थीलाई प्रतिगमनविरुद्ध एकजुट हुन आह्वानसमेत गरेको छ।

टिप्पणीहरू