रविकाे राेजाइ : बालेनपछि कुलमान
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहसँग ‘प्रधानमन्त्री बन्ने र बनाउने’ बारे कुनै छलफल नभएको बताएका छन् । गएराती अबेरसम्म बालेनसँग छलफल गरेका उनले आज चितवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
रास्वपाकै नेताहरुले पाँच घण्टाभन्दा लामो समय चलेको छलफमा रविले बालेनलाई प्रधानमन्त्री बनाउनेगरी चुनावी तालमेलकाे प्रस्ताव राखेको आशययुक्त अभिव्यक्ति दिइरहेका छन् । तर रविले छलफलमा प्रधानमन्त्री बन्ने कुराले प्रवेश नै नपाएको बताएका हुन् । ‘प्रधानमन्त्री बन्ने र बनाउने कुरामा अहिलेसम्म प्रवेश भइसकेका छैनौँ’, उनले भने, ‘नयाँ शक्तिहरु एकै ठाउँमा आउनुपर्छ भन्ने कुरा मात्र भएको हो ।’
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा नौ महिना लामो थुनामा बसेर केही दिनअघि धरौटीमा रिहा भएका लामिछानेले कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग पनि एकताको लागि छलफल चलिरहेको जानकारी दिए । उनका अनुसार पार्टीको एउटा समूहले जेनजी युवाहरुसँग पनि छलफल गरिरहेको छ । ‘हामीले बालेनजीसँग मात्र कुरा गरेका हैनौँ, कुलमानजीसँग पनि छलफल गर्दैछौँ, साथीहरुले सुदन गुरुङ र अन्य जेनजी साथीहरुसँग पनि कुराकानी गर्नुभइरहेको छ’, उनले थपे ।
टिप्पणीहरू