कार्यान्वयन अगावै कार्यविधि पुनः संशोधन नगर्न अनेरास्ववियुको चेतावनी
त्रिभुवन विश्वविद्यालयको शिक्षक नियुक्ति सिफारिससम्बन्धी कार्यविधि संशोधन भएर कार्यान्वयनमा नआउँदै पुनः संशोधन गर्न लागिएपछि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आपत्ति जनाएको छ । त्रिवि कार्यकारी परिषद्बाट ‘शिक्षक नियुक्तिको सिफारिससम्बन्धी कार्यविधि, २०७५’ संशोधन भई कार्यान्वयनमा नआउँदै पुनः संशोधन गर्न लागिएपछि अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
त्रिविका उपकुलपति शिवलाल भुसाललाई ध्यानाकर्षण पत्र बुझाउँदै अनेरास्ववियुका संयोजक समिरराज विष्टले कार्यविधिलाई एकपटक पनि कार्यान्वयनमा नल्याई अर्को संशोधन गर्न खोज्नुमा विश्वविद्यालयका पदाधिकारीहरुको गलत मनशाय देखिएको बताएका छन् ।
गत असोज २१ गते संशोधित ‘त्रिवि शिक्षक नियुक्तिको सिफारिससम्बन्धी विनियम, २०७५’ को विनियम २१ को उपविनियम (६) को खण्ड (क) मा भएको लोकसेवाको संलग्नता र समन्वयमा त्रिवि सेवा आयोगले लिने हरेक परीक्षाको प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनको व्यवस्था त्रिविको हितमा भएको उनको भनाइ छ ।
आज बुझाइएको ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘लोकसेवाको संलग्नता र समन्वयले त्रिवि सेवा आयोगले लिने हरेक परीक्षाको प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनले परीक्षाको निरपक्षता र विश्वासनीयता बढाई योग्य तथा सक्षम व्यक्ति त्रिवि सेवामा प्रवेश पाउने कुरा विश्वविद्यालयको हितमा रहेको देखिदाँदेखिँदै पनि उक्त कार्यविधि संशोधन गर्न समिति निर्माण गर्न लागिएको भन्ने कुराले विश्वविद्यालयको प्राज्ञिक क्षेत्र नभई आफू निकटस्थ व्यक्तिहरुको भर्ती केन्द्र बनाउन उद्दत रहेको देखिन्छ ।’
त्यस्तै, कार्यविधि तत्काल त्रिविको बेवसाइटमा राख्न पनि माग गरिएको छ । संगठनले उठाएका विषयमा विश्वविद्यालय गम्भीर नभएमा संघर्षका कार्यक्रम थालिने अनेरास्ववियुको चेतावनी छ ।
टिप्पणीहरू