चिनियाँ उच्चस्तरीय पाहुना टोली भेटघाटमा व्यस्त
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायान नेतृत्वको उच्चस्तरीय टोली भेटघाटमा व्यस्त छ । हिजो काठमाडौं आइपुगेको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उहाँको सरकारी निवास बालुवाटारमा शिष्टाचार भेट गरेको छ ।
भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको बताइएको छ । उपमन्त्री हायान नेकपा माओवादी केन्द्रको निमन्त्रणमा नेपाल भ्रमणमा आउनुभएको हो ।
आजै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुभएको छ । पार्टी मुख्यालय, च्यासल ललितपुरमा भएको भेटवार्तामा दुई मुलुकबीच कायम रहेको अति निकट र मित्रतापूर्ण एवम् चिनियाँ कम्युनिष्ट पार्टीसँग रहेकोे हार्दिकतापूर्ण सम्बन्धमाथि विचार विमर्श भएको बताइएको छ ।
चिनियाँ उच्चस्तरीय पाहुना टोलीले हिजो अपरान्ह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पार्टी मुख्यालय, बनस्थलीमा भेट गरेको थियो ।
टिप्पणीहरू