बालेनविरुद्ध एमाले कार्यकर्ता सडकमा

सुन्नुहोस्

फुटपाथमा व्यापार गर्न रोक लगाउने काठमाडौँ महानगरपालिकाको कदमविरुद्ध नेकपा एमाले सम्वद्ध फुटपाथ व्यवसायीहरु आजपनि सडकमा ओर्लिएका छन् । 

फुटपाथ तथा साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै लामो समयदेखि आन्दोलित उनीहरुले आज विरोध र्यालीसहित महानगर घेराउ गरेका हुन् । एमालेको मजदुर संगठन जिफन्टको अगुवाइमा आज बिहान रत्नपार्कबाट निस्केको र्याली जमल, दरबार मार्ग हुँदै कमलादीस्थित महानगर कार्यालयमा पुगेर धर्नामा परिणत भएको छ । 

धर्नाअघि जिफन्टअन्तर्गतको नेपाल स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष माया गुरुङको नेतुत्वमा निस्किएको र्यालीमा मजदुर संगठनका केन्द्रीय महासचिव लक्ष्मण घिमिरेलगायत २०० जना सहभागी थिए । प्लेकार्ड र झण्डासहित निस्किएको र्यालीका सहभागीहरुले महानगरविरुद्ध चर्को नाराबाजीसमेत गरे ।

उनीहरुले 'लुटेको अमान फिर्ता गर', 'लुटेरा काठमाडौँ महानगरपालिका मूर्दावाद', 'हाम्रो आन्दोलन जिन्दावाद', 'सम्पूर्ण व्यवसायीहरु एक हौँ', 'गरिब मार्न पाइंदैन' 'महानगरको दमन बन्द गर', 'राजु पाण्डे मूर्दावाद' जस्ता नारा लगाएका थिए । 

फुटपाथ खाली गर्ने क्रममा महानरको प्रहरी टोलीले माघ ७ गते राती आठ बजे एकजना महिला सडक व्यापारीलाई हातपात गरेको र अन्य धेरैको सामान जफत गरेको बताउँदै उनीहरु महानगरविरुद्ध आन्दोलित भएका हुन् ।
 

टिप्पणीहरू