हिजो चेतावनी, आज नियुक्ति
संघीय संसदको महासचिवमा पदमप्रसाद पाण्डेय नियुक्त भएका छन् । यसअघि उनी संसद्को सचिव रहेकाले कार्यवाहक महासचिवको भूमिकामा थिए । उनले आजै सचिवबाट राजीनामा दिएर महासचिवको नियुक्ति लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई संघीय संसदको महासचिवमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।
राष्ट्रपतिले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम पाण्डेयलाई संघीय संसदको महासचिव पदमा नियुक्त गर्नुभएको जारी विज्ञप्तिमा उल्लेख छ । गत मंसिर २५ गते सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सनाले पाण्डेयलाई महासचिवमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको थियो ।
पाण्डेयको नियुक्तिमा विलम्ब गरिएको भन्दै हिजो एमाले सांसद देवेन्द्र दाहालले राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति पौडेलको चर्को आलोचना गरेका थिए । उनले राष्ट्रपतिले गम्भीर चलखेल गरेको आरोप लगाउँदै भनेका थिए, ‘राष्ट्रपतिज्यू, तपाईंको अध्ययन चिन्तन अब बढी भएन र ? एउटा संसदको महासचिवमा तपाईंको चलखेल किन ? आज विनम्रतापूर्वक यस सभाको बैठकमा आग्रह गर्दछु । हामीलाई कानूनअनुसार सिफारिस गरिएको महासचिव अबिलम्ब दिइयोस् । आगामी बैठकहरुमा हामीले सम्माननीय राष्ट्रपतिको बारेमा अलि कडा शब्द प्रयोग गर्न नपरोस् । राष्ट्रपति भनेको सम्मानित पद हो । यसको गरिमालाई कामय राख्न आग्रह गर्दछु ।’
टिप्पणीहरू