रित्तो मञ्चमा देउवाको भाषण- मान्छे कोही छैन, के बोल्नु !
पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भाषण कलामा पोख्त नेता होइन । मनमा लागेका कुरा फ्याट्ट बोलिहाल्ने स्वभावका उहाँ सार्वजनिक कार्यक्रमहरुमा छोटो बोल्नुहुन्छ ।
तर, पार्टीका अन्य नेताहरुले लम्मेतान भाषण गरेर समय खेर फालेपछि आज एउटा कार्यक्रममा देउवाले भाषणकै विषयमा भाषण गर्नुपरेको छ । कार्यक्रम थियो, काँग्रेसको काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन समारोह । प्रमुख अतिथि हुनुहुन्थ्यो, देउवा ।
प्रमुख अतिथि भन्दा अगाडि अन्य अतिथिहरुले बोल्ने प्रचलनअनुसार देउवाले भाषणका लागि अन्तिमसम्म कुर्नुपर्ने नै भयो ।
जव देउवाको बोल्ने पालो आयो, मञ्च खालि भैसकेको थियो । त्यसपछि उहाँले व्यंग गर्दै भन्नुभयो, ‘मान्छे बाँकी कोही छैन, के बोल्नु । के अवस्था भइसक्यो भने मान्छे बोल्दा बोल्दा हल खालि भइसकेको हुन्छ, सबैकुरा स्पष्ट सुनाउनु पनि छ । कुरा सुनाउन पनि कहिले काहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ ।’
देउवाले आफ्ना कुरा राखेर नेताहरु हिंडेकोप्रति पनि असन्तुष्टि जनाउँदै आफू बोल्नुको अर्थ नरहने बताउनुभयो ।
सार्वजनिक कार्यक्रमहरुमा मान्छे नहुँदा पनि नेताहरु भने बोलिरहने गरेको भन्दै उहाँले छोटो भाषण गर्ने प्रवृतिको विकास गर्नुपर्नेमा जोडसमेत दिनुभएको थियो ।
टिप्पणीहरू