नेता भाँडिदै, कार्यकर्ता बाँडिदै

नेता भाँडिदै, कार्यकर्ता बाँडिदै
सुन्नुहोस्

नेकपा (एमाले) भित्रको आन्तरिक द्वन्द्व तथा मौलाउँदै गएको गुटगत प्रवृत्तिले रोल्पामा समेत प्रभाव पारेको छ । एमाले रोल्पाको सातौं जिल्ला अधिवेशन आगामी फागुन २९ र ३० गते तोकिएको छ । 

अधिवेशन नजिकिएसँगै नेतृत्वका आकांक्षीहरुको दौडधुप सुरु भइसकेको छ । यसअघिका जिल्ला अधिवेशनमा प्रायः सर्वसम्मत निर्णय गरेर नेतृत्व चयन गरिएको थियो । तर आउँदो जिल्ला अधिवेशनको निम्ति पार्टीभित्रकै नेता तथा कार्यकर्ताबीच विभाजन देखिएको छ । 

जिल्ला नेतृत्वको निम्ति यतिबेला तीन जना नेताको नाम चर्चामा छ । रोल्पा नगरपालिका समिति अध्यक्ष घनश्याम आचार्य आगामी अधिवेशनबाट जिल्लाकै अध्यक्ष बन्ने दाउमा रहेको बताइन्छ । उनी लामो समयदेखि मानवअधिकार र पत्रकारितामा सक्रिय छन् । लिवाङका आचार्यले नेतृत्व हात पार्न सदरमुकाम आसपासका कार्यकर्तासँग सम्बन्ध बलियो बनाउँदै लगेको कार्यकर्ताहरुको भनाई छ ।

विजय घर्ती पनि जिल्ला अध्यक्षका अर्का आकांक्षी हुन् । घर्तीगाउँ घर भएका उनी हाल जिल्ला उपाध्यक्ष तथा अधिवेशन आयोजक कमिटिका संयोजक पनि हुन् । कार्यकर्तामाझ उनी इमान्दारी छविले लोकप्रिय मानिन्छन् । त्यस्तै प्रेम घर्तीले पनि जिल्ला अध्यक्षको लागि दौडधुप सुरु गरिसकेका छन् । कोर्चावाङ घरका भएका घर्ती हाल प्रदेश कमिटी सदस्य हुन् । 

आगामी अधिवेशनमा यी तीन जना सम्भावित उम्मेद्वारको रुपमा देखिएपछि जिल्लाका कार्यकर्ताहरुबीच आन्तरिक छलफल समेत सुरु भइसकेको छ । कार्यकर्ताले तीन जना उम्मेदवारमध्ये कसलाई रुचाउँछन्, त्यो भने अधिवेशनमा नै थाहा हुनेछ । 

तर रोचक प्रसङ्ग त यो छ कि, केही केन्द्रीय तहका नेताहरु भने तीनै जना उम्मेद्वारलाई पन्छाएर आफ्नो ‘खास मान्छे’ अमृत बुढालाई जिल्ला अध्यक्ष बनाउने बाटोमा लागेको संकेत पाइएको छ । बुढा अहिले जिल्ला सचिव हुन्, तर उनीसँग कार्यकर्ता खासै सन्तुष्ट नरहेको देखिन्छ । अधिकांश समय दाङमा बस्ने बुढालाई रोल्पाका कार्यकर्ता आगामी अधिवेशनबाट कुनै पनि पदीय जिम्मेवारी नदिने मानसिकतामा रहेको बताइन्छ । तर पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्वसांसद गोकुल घर्ती, पूर्व राष्ट्रिय सभा सदस्य तथा केन्द्रीय सदस्य कुमार दशौदी र एमालेकै कान्छी सांसद तथा केन्द्रीय सदस्य ईश्वरी घर्ती भने बुढालाई जिल्ला अध्यक्ष बनाउन लागिपरेको अर्को पक्षको आरोप छ ।

नेता बुढाले जिल्लामा पार्टीको लागि उल्लेख्य काम नगरेको कार्यकर्ताको गुनासो छ । उनीमाथि यसअघि पनि उपल्लो तहका नेताहरुसँगको उठबसकै भरमा पदीय जिम्मेवारी पाएको आरोप लाग्दै आएको छ । आगामी अधिवेशनबाट भने अहिले सचिव समेत रहेका बुढालाई कुनै पनि पदीय जिम्मेवारी नदिन स्थानीय कार्यकर्ताले पार्टीभित्रै आवाज उठाउन थालेको उनका विपक्षीहरुको दाबी छ ।

टिप्पणीहरू