माओवादीमा राष्ट्रिय सभा अध्यक्ष आफैँ लिने मत बलियो, कांग्रेस बैठकबारे चर्चा

माओवादीमा राष्ट्रिय सभा अध्यक्ष आफैँ लिने मत बलियो, कांग्रेस बैठकबारे चर्चा
सुन्नुहोस्

नेकपा माओवादी केन्द्रका नेताहरुले राष्ट्रियसभाको अध्यक्ष कांग्रेसलाई छोड्न नहुनेमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । 

आज पार्टी मुख्यालय पेरिसडाँडामा बसेका स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरुले राष्ट्रिय सभा अध्यक्ष नछोड्न नेतृत्वलाई सुझाव दिएका हुन् । 'राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको बारेमा छलफल भयो । र त्यस सम्बन्धमा अन्तिम निर्णय भोलि हुन्छ । अधिकांशले अध्यक्ष छोड्नु हुन्न भन्ने मत राख्नुभएको छ', प्रवक्ता सापकोटाले भने । 

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने सत्ता गठबन्धनमा सहमति भैसकेको चर्चा छ । तर, माओवादी नेताहरुले भने आलोपालो सहमतिअनुसार अर्को वर्ष काँग्रेसले प्रधानमन्त्री पाउने भएकाले संवैधानिक परिषद्मा पार्टीको प्रतिनिधित्व शून्य हुनेगरी अध्यक्ष छोड्न नहुने धारणा सार्वजनिकरुपमै राख्दै आएका छन् । 

बैठकमा नेताहरुको कार्य विभाजन, भावी योजनालगायतका विषयमा पनि छलफल भएको प्रवक्ता सापकोटाले जानकारी दिए । उनका अनुसार काँग्रेस महासमिति बैठकमा प्रस्तुत गठबन्धनसम्बन्धी विषयमा पनि नेताहरुले बोलेका थिए ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि (बुधवार) पनि बस्दैछ ।

टिप्पणीहरू