निजगढको बिस्फोटमा सेना जोडिएको त छैन ?

निजगढको बिस्फोटमा सेना जोडिएको त छैन ?

बाराको निजगढमा हिजो बिहान एकदमै पीडादायी घटना घट्यो । वर्कसपमा विस्फोट हुँदा ठूलो जनधनको क्षति भएको छ । निजगढ नगरपालिका–७, निजगढ बजारमा सञ्चालित रेशम मगरको ‘रोहित वर्कसप लेथ’ मा शंकास्पद वस्तु पड्किँदा तीन जनाको मृत्यु र तीन जना घाइते भएका छन् । 

वर्कसप सञ्चालक रेशम मगर,वीरगञ्जकी रितु रजत र भारतका राकेश जैसवालको उपचारको क्रममा ज्यान गएको हो । त्यस्तै,निजगढकै सूर्यबहादुर थापा, वीरगञ्जका फिरोद देवान र भारतका अरविन साहको उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेको छ । 

जिल्ला प्रहरी कार्यालय, बाराले शुरुवातमा ग्याँस पड्किएको जनायो । तर, पछि प्रहरीले नै शंकास्पद वस्तु भन्ने जानकारी दियो । बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार उक्त शंकास्पद वस्तु परीक्षणका लागि पठाइएको छ । कबाडी किन्ने भारतका रमेश जैसवाल र बेच्ने निजगढका टिकाराम पाख्रिनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो फास्टट्रयाकसँग रिलेटेड छ । त्यहीँको कबाडी हालसालै बेचिएको छ, त्योसँगै गएको हो । त्यो सामान झण्डै ३० केजीको देखिन्छ । कबाडीवालाले किन्यो, काट्न सकेन र त्यहाँ ल्याएर छोडिदियो । वर्कसपले काट्ने क्रममा पड्कियो । त्यो वर्कशप एकान्तमा रहेछ, नत्र ठूलै क्षति हुन्थ्यो’, स्रोतले भन्यो 

मुलुककै गौरवको आयोजना काठमाडौं–निजगढ फास्टट्रयाक बनाउने क्रममा प्रयोग भएका कबाडी सामान बेच्दा सो शंकास्पद वस्तु पनि सँगै मिसिएको विषयले हाल नेपाली सेनाभित्र तरङ्ग ल्याएको छ । राजधानीलाई मधेशसँग जोड्ने फास्टट्रयाक निर्माणको जिम्मा सेनाले पाएको छ । 

सेनाले केही दिनअघि मात्र ५१ टन कबाडी बेचेको र त्यही कबाडीमा सो वस्तु पनि मिसिएको स्रोतले बतायो । आश्चर्यलाग्दो कुरा के छ भने त्यस किसिमको वस्तु हालसम्म सेनाले प्रयोग गरेकै छैन  । तोपमा प्रयोग हुने उक्त वस्तु कहाँबाट आयो ? भन्ने विषयमा प्रहरीले छानबिन गरिरहँदा सेनाभित्र कबाडी बेचेको कुरा ढाकछोप गर्न खोजिँदै छ । 

स्रोतले भन्यो,‘यो घटना एकदमै रहस्यमय र कौतहुलता जगाउने खालको छ । सेनाले केही दिनअघि मात्र फास्टट्रयाकको कबाडी बेचेको छ । त्यही कबाडीमा मिसिएको भन्ने गाइगुइँ यहाँभित्र व्यापक चलिरहेको छ । शंकास्पद वस्तु हेर्दा तोपजस्तो देखिन्छ । नेपालमा अहिलेसम्म तोपको प्रयोग भएको छैन । फेरि भारतबाट चोरेर ल्याउनुपर्ने आवश्यकता पनि देखिँदैन । यहाँ डरलाग्दो खिचडी पाकिरहेको छ ।’

बारा प्रहरीले भने सो कबाडी एक साताअघि मात्र वर्कसपमा आएको जनाएको छ । वर्कसपमा कार्यरत कामदारले सो वस्तुको बाहिरी भाग काटेर तामा निकाल्ने क्रममा विस्फोट भएको हो । त्यहाँका स्थानीयका अनुसार सो वस्तु खरिद गर्नका लागि वर्कसपका सञ्चालकले पैसा मागेका थिए । सुरक्षा निकायमध्ये सर्वोच्च ओहोदामा रहेको सेनाको साख जोगाउन प्रहरीले घटनामा ट्वीस्ट ल्याएको  आशंका छ । 

धनुषाको आर्मी ब्यारेकबाट कबाडी बेच्दा सो सामान मिसिएको हुनसक्ने प्रहरीको भनाइ छ । कबाडी खरिद गर्नेले सो वस्तु धनुषाबाट त्यता ल्याएको भनिएको छ । जबकि धनुषामा विस्फोटक पदार्थकै आवश्यक पर्नेगरी कुनै निर्माण कार्य भइरहेको छैन् । फास्टट्रयाकको कबाडी बेचिनु र निजगढमै घटना घट्नुले पनि सेनातर्फ ईशारा गरिरहेको छ । 

‘वर्कसपले तामा काटेर निकाल्ने क्रममा सो घटना घटेको हो । प्रहरीले यसलाई अर्कैतिर मोड्न खोजे पनि यो फास्टट्रयाकसँग रिलेटेड छ । त्यहीँको कबाडी हालसालै बेचिएको छ, त्योसँगै गएको हो । त्यो सामान झण्डै ३० केजीको देखिन्छ । कबाडीवालाले किन्यो, काट्न सकेन र त्यहाँ ल्याएर छोडिदियो । वर्कसपले काट्ने क्रममा पड्कियो । त्यो वर्कशप एकान्तमा रहेछ, नत्र ठूलै क्षति हुन्थ्यो’, स्रोतले भन्यो । 

बाटो बनाउने जिम्मा लिएको सेना ठेक्का लगाएपछि फुक्काफाल भएको छ । सबै काम ठेकेदारलाई छोडेको छ । फास्टट्रयाकबाट बिस्फोटक पदार्थ कबाडीमा जानु सेनाको चरम लापरवाही हो । सेनाले ख्यालख्याल गर्दा धन मात्र होइन,ज्यानकै क्षति भएको छ । 

उता, सेनाका सूचना अधिकारी सहायक रथी कृष्णप्रसाद भण्डारीले भने यस विषयमा कुनै जानकारी नभएको बताए । बिस्फोटक पदार्थको पहिचान नखुलेकाले केही भन्न नसक्ने उनको भनाइ छ । ‘प्रहरीसहित सैन्य टोली पनि फिल्डमा खटिएको छ । सो वस्तुको पहिचान खुलेको छैन,त्यसैले अहिले नै केही भन्न सकिन्न’, उनले भने ।

टिप्पणीहरू