गठबन्धन टुट्दैन, अध्यक्षको दावी पनि छाडिँदैन : मन्त्री शर्मा

राष्ट्रिय सभाको आगामी अध्यक्षलाई लिएर सत्ता साझेदार दलहरुबीच बेमेल बढेको चर्चा चलिरहँदा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गठबन्धन टुट्ने अवस्था नरहेको बताउनुभएको छ ।  

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रको नेतासमेत रहनुभएका मन्त्री शर्माले आफ्नो पार्टीका कारण गठबन्धन तलमाथि नहुने जानकारी दिनुभएको छ । आज प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले राष्ट्रिय सभाको अध्यक्षमा माओवादीले दावी नछोड्ने पनि प्रष्ट पार्नुभएको छ । 

आफ्नो पार्टी राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल हुनुका नाताले अध्यक्ष दावी गर्नु स्वाभाविक हुने जनाउँदै उहाँले गठबन्धनका अन्य दलहरुले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । गठबन्धनमा आलोपालो सहमतिअनुसार अर्को वर्ष माओवादीले प्रधानमन्त्री हस्तान्तरण गरेपछि सबैतिर शून्य हुने स्थिति दर्शाउँदै उहाँले राष्ट्रिय सभा अध्यक्ष नछाड्न स्थायी समिति बैठकले उम्मेदवार उठाउने निर्णय गरेको स्मरण पनि गराउनुभयो ।  

‘गठबन्धनमा खटपट आयो भन्ने कुरा छैन । माओवादी राष्ट्रिय सभामा ठूलो पार्टीको रुपमा पनि आयो । अर्कोकुरा, जुन बिग सिक्स छ । अहिले आउँदा माओवादीमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखदेखि लिएर राष्ट्रिय सभासम्म कहीँ पनि उपस्थिति छैन । प्रधानमन्त्री हुनुहुन्छ, आफ्नो ठाउँमा छ । अहिले जति विषयहरु उठेका छन्, त्यो विषयले माओवादीले नै राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारको दाबी गर्न पाउनुपर्छ र यसमा गठबन्धनले पनि सहयोग गर्नुपर्छ भन्ने आशयबाट स्थायी कमिटी बैठकमा कुरा उठेको हो’, उहाँले भन्नुभयो ।

टिप्पणीहरू