समितिसँग सम्पर्कमा रहन मन्त्रीलाई एमालेको खबर
सरकार संसदीय समितिको निर्देशन र सभामुखको 'रुलिङ'प्रति जिम्मेवार नरहेको आरोप लगाइरहेको प्रमुख प्रतिपक्ष नेकपा एमालेले परराष्ट्र मन्त्री एनपी साउद भूमिकालाई लिएर आलोचना गरेको छ ।
आज संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सो पार्टीकी सांसद सुनिता बरालले परराष्ट्र मन्त्री समितिसँग बेखबर रहेको भन्दै असन्तुष्टि जनाइन् । परराष्ट्र मन्त्रालयसँग सम्बन्धित विषयहरु सञ्चार माध्यमबाट सुन्नुपर्ने अवस्था बनेको जनाउँदै उनले समितिसँग बेखबर नहुन मन्त्री साउदको ध्यानाकर्षण पनि गराएकी छन् ।
‘धेरै सम्झौता, धेरै कार्यक्रम, धेरै अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र मन्त्रालयसँगका विषयहरु सञ्चारमाध्यमबाट सुन्ने तर समितिसँग बेखबर हुने कुरालाई धेरै निरन्तरता नदिनु हुन अनुरोध गर्दछु । सचिव पनि आउनुभएको छ । मन्त्रीज्युलाई कम्तिमा हामीले समितिलाई प्रभावकारी बनाउन सके पदीय गरिमा पनि थप गर्विला बनाउन सक्छौँ', सांसद बरालले भनिन्, 'त्यो कुरा मनन गर्नुभए हुन्थ्यो । सूचनाको ग्यापले यो सदस्यको रुपमा जवाफदेहीता कमजोर हुँदा मेरो नभइ समिति र समितिको मात्र नभइ मन्त्रीज्युकै प्रभावकारी हुन कठिन छ ।’
राष्ट्रियता र राष्ट्रको स्वाभिमानका विषयमा सबैले गम्भीर भएर सोच्नुपर्नेमा उनले जोड दिइन् ।
टिप्पणीहरू