विमानस्थलमा अरबौं ऋण, जहाज आकाशबाटै फर्कन्छन् चीन

विमानस्थलमा अरबौं ऋण, जहाज आकाशबाटै फर्कन्छन् चीन

आज बिहानदेखि काठमाडौं उपत्यकाको आकाशमा बाक्लो हुस्सुसहित हल्का वर्षा हुँदा मध्यान्हसम्म काठमाडौं आउने र  बाहिरिने अधिकांश आन्तरिक र वाह्य उडान प्रभावित भए । धनगढी र नेपालगञ्जबाट काठमाडौंका लागि सबेरै उडेका विमान भने केहीबेर आकाशमा होल्ड गरी भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए ।

केही अन्तर्राष्ट्रिय उडानकालाई निकै लामो समयसम्म सिमरा माथिको आकाशमा होल्ड गरियो । बिहान ११ बजे चीनको छन्तुबाट आएको एअर चाइनाको उडान नम्बर सिए ४३७ विमान झण्डै डेढ घण्टा आकाशमा फन्को लगाएर पुनः तीन घण्टाको उडानमा छन्तुको तियानफु विमानस्थलतिरै फर्कियो ।

खराब मौसमका कारण विमान अवतरण र उडानमा समस्या पर्नु सामान्य हो । तर,घण्टौं परका विमानस्थलमा अवतरणका लागि डाइभर्ट हुनुपर्दा काठमाडौं विमानस्थलमा उड्न ठिक्क परेका र आकाशबाटै डाइभर्ट भएका उडानका यात्रुमध्ये थुप्रैको बिचल्ली आज पनि भएको छ । लामो समयसम्म आकाशमा होल्ड गर्दा,डाइभर्टपछि यात्रुको व्यवस्थापन गर्नुपर्दा सम्बन्धित विमन कम्पनीलाई पनि करोडौं घाटा लाग्ने गरेको छ ।

"नेपालको हवाइ क्षेत्रमा पसिसकेका विमान नेपालभित्रैका अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसक्नुको कारण के हो ? अरबौँ रुपैयाँको वैदेशिक ऋणमा विमानस्थल खोल्दै जाने तर ती केही कामै नआउने भएपछि निर्माणको के अर्थ ?" 

उदाहरणको निम्ति एअर चाइनाको विमान यता डेढ घण्टा घुमेर फेरि छन्तु फर्केको सन्दर्भलाई लिन सकिन्छ । उक्त विमान नजिकैको ल्हासा विमानस्थलमासमेत अवतरण नगरी छन्तु नै पुगेको हो । तर अरु ठूला तथा साना विमान केहीबेर सिमराको आकाशमा होल्डमा बसेर काठमाडौंमा अवतरण गरेका थिए । 

यो सन्दर्भमा अर्बौं खर्चेर हालै बनाइएका भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको औचित्यमाथि प्रश्न चिन्ह खडा भएको छ । नेपालको हवाइ क्षेत्रमा पसिसकेका विमान नेपालभित्रैका अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसक्नुको कारण के हो ? अरबौँ रुपैयाँको वैदेशिक ऋणमा विमानस्थल खोल्दै जाने तर ती केही कामै नआउने भएपछि निर्माणको के अर्थ ?

यसअघि भारतलगायत अन्य मुलुकबाट काठमाडौंको उडानमा रहेका कतिपय विमान पनि लखनउ, कलकत्ता र दिल्ली डाइभर्ट हुने गरेका थिए । जबकि नजिकै भए पनि तीसमेत ४५ मीनेट दूरीको ल्हासातिर डाइभर्ट हुँदैनन् । बरु चीनबाट आएका जहाजसमेत निकै परको छन्तु नै पुग्छन् । काठमाडौं विमानस्थलमा अवतरण असहज हुँदा पोखरा र भैरहवामा अवतरण गर्न सकिएको भए कम्तीमा पश्चिम नेपालतर्फ जाने यात्रुहरु त्यतैबाट घर जान्थे । त्यताका होटेल ब्यवसायीहरु पनि लाभान्वित हुन्थे तर पोखरा र भैरहवामा त अहिलेसम्म अध्यागमनको एउटा सामान्य डेस्कसम्म पनि स्थापना गर्न सकिएको छैन । अनि चीन हुँदै  पहिलोपटक नेपाल आउँदै गरेका जापानी,पोल्याण्ड,बेलायती नागरिकहरु आइन्दा नआउने भनेर किन नकराउन् ?

टिप्पणीहरू