विश्वासको मत : बागमतीमा भोलि, कर्णालीमा पर्सि
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि विश्वासको मत लिने तयारी गरेका छन् । आफू नेतृत्वको सरकार अल्पमतमा परेको २७ औँ दिनमा विश्वासको मत लिने तयारी गरिएको छ ।
यसका लागि माओवादी केन्द्रको बागमती प्रदेश सभाका प्रमुख सचेतक रत्नप्रसाद ढकालले प्रदेश सभामा विश्वासको मतको प्रस्ताव अस्ति दर्ता गराइसकेका छन् ।
नयाँ सत्ता समीकरणपछि नेपाली काँग्रेसले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका हुन् । ११० सदस्यीय बागमतीमा बहुमतका लागि ५६ सांसदको साथ चाहिन्छ ।
एमाले २७, माओवादी २१, एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदको विश्वासको मतको आधारमा उनी नेतृत्वको सरकारले निरन्तरता पाउने अवस्था देखिएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पर्सि विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिने सम्बन्धी प्रस्ताव आज दर्ता भइसकेको कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ ।
४० सदस्यीय कर्णालीमा बहुमतको निम्ति २१ सांसदको समर्थन आवश्यक पर्छ । जसमा एमालेका १३, माओवादी केन्द्रका १० र एकीकृत समाजवादीका एक सांसद छन् ।
टिप्पणीहरू