व्यापारिक कारोबारमा हुने गरेका सेटिङ भत्काउन प्रधानमन्त्रीको निर्देशन

व्यापारिक कारोबारमा हुने गरेका सेटिङ भत्काउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोगबारे गम्भीरतापूर्वक अनुगमन तथा नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित राजस्व वृद्वि तथा चुहावट नियन्त्रण सम्बन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूलाई प्रधानमन्त्रीले कडा निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रीले नयाँ गतिका साथ काम गर्ने अठोट लिएर सरकार पुनर्गठन गरिएको बताउँदै भन्नुभयो, ‘राजस्व चुहावट र अवैध व्यापारिक कारोबारमा हुने सेटिङ्ग भत्काउने कार्यलाई प्राथमिकता दिनुहोस् । झुटा तथा नक्कली बील बिजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएको छ । त्यसको गम्भीर अनुगमन गर्नुस् र एक्सन लिनुस् ।’

आन्तरिक बजारलाई व्यवस्थित तुल्याउँदै बील लिने र दिने प्रणाली प्रभावकारी बनाउनसमेत प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । यस सम्बन्धमा सम्बन्धित राजस्व कार्यालयहरूले नियमित बजार अनुगमन गर्ने र सोको रिपोर्टिङ व्यवस्था मिलाउनुपर्नेतर्फ उहाँको जोड छ ।

बैठकमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव डा. कृष्णहरि पुस्कर, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, गृहसचिव एकनारायण अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवहरू, प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अर्थ मन्त्रालय मातहतका महानिर्देशकहरूको उपस्थिति थियो ।

टिप्पणीहरू