एनआएनएको मुद्दा फेरि अड्कियो

एनआएनएको मुद्दा फेरि अड्कियो

सरकारलाई विपक्षी बनाएर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाई फेरि पछाडि धकेलिएको छ । 

न्यायाधीशद्धय सपना प्रधान मल्ल र डा.नहकुल सुवेदीको संयुक्त इजलाशमा आज पेशी तोकिएको रिट 'हेर्दाहेर्दै'मा राखिएको हो । आज निर्णय सुनाउने भनी पेशी तोकिएकोमा भोलिका लागि सरेको सर्वोच्चका सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेले जानकारी दिए । 

एनआरएनएले परराष्ट्र मन्त्रालयसहितलाई विपक्षी बनाएर २०७९ मंसिर ८ गते सर्वोच्चमा रिट हालेको थियो । दर्ता नम्बर ०७९–डब्लुओ–०५४० रहेको मुद्दामा परराष्ट्रका सचिवलाई समेत विपक्षी बनाइएको छ । 

त्यस्तै, उत्प्रषेणको आदेश माग गर्दै एनआरएनएकै तर्फबाट पुनः असार २५ गते अर्को रिट दायर गरेको थियो । दर्ता नम्बर ०७९–डब्लुओ–१५०७ भएको मुद्दामा परराष्ट्र मन्त्री, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्, एनआरएनएको अध्यक्ष मण्डलको संयोजक डा.उपेन्द्र महतो, एनआरएनएको ८१ औं बैठकले गठन गरेको उच्चस्तरीय समितिको संयोजक डा.शेष घलेलगायत १० जनालाई विपक्षी बनाइएको छ । 

अदालतले दुबै रिटलाई एकै ठाउँमा राखेर सुनुवाई थालेको थियो । तीन पटक हेर्न नभ्याइने, दुई पटक हेर्दाहेर्दै र दुई पटक निसु (निर्णय सुनाउने)मा राखेर १३ औँ पटक पेशी चढिसकेको छ । 

एनआरएनको नयाँ नेतृत्व चयनका लागि गत कात्तिकमा भएको निर्वाचनबाट डा. बद्री केसी अध्यक्ष निर्वाचित भएका थिए । तर, केसीले भोटिङ प्रणाली कब्जामा लिएर धाँधली गरेको दावी गर्दै उनीसँग अध्यक्षमा प्रतिष्पर्धा गरेका महेश श्रेष्ठ र आरके शर्माले परिणाम अस्वीकार गर्दै समानान्तर समिति गठन गरेका छन् । 

दुवै पक्षले आधिकारिकता दावी गर्दै परराष्ट्रमा निवेदन दिएपछि विवाद अदालतसम्म पुगेको हो ।

 

टिप्पणीहरू