कतारबाट अर्को टोलीको आगमन, जंगीअड्डामा विशेष छलफल
आगामी साता हुन लागेको कतारी शेख तमिम बिन हमाद अल थानीको दुई दिने राजकीय भ्रमणको पूर्वतयारीका लागि कतारबाट अर्को टोली पनि काठमाडौँ आइपुगेको छ ।
कतार एयरलाइन्सको उडान नम्बर क्यूआर-६४६ मा आज साँझ काठमाडौँ ओर्लिएको टोलीमा सालेम रशिद अल घिर्निक र मतेब इब्राहिम अल रेमाइही रहेका छन् । यसअघि हिजो मध्यराति पनि दुई जना कतारी अधिकारी बैंकक हुँदै काठमाडौं आइपुगेका थिए ।
थाइ एअरवेजको उडान नम्बर टिजी ३१० मा राति पौने १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टोलीमा युसुफ अहमद वाइबी अलसायद र अब्दुल्ला मोहम्मद सिद्धिक क्युएस अल इमादी रहेको बुझिएको छ । सोमबार पनि सोही उद्देश्यका लागि २२ जना कतारी अधिकारीहरु काठमाडौं आएका थिए ।
शेख थानीले चैत ११ र १२ गते नेपालको औपचारिक भ्रमण गर्दैछन् । सरकारले भ्रमणको तयारी तीब्र पारेको छ ।
कतारी अमिरको सुरक्षाका लागि आवश्यक सुरक्षा रणनीति बनाउन गृह मन्त्रालयका सहसचिवसहित सुरक्षा निकायका अधिकारीहरुले विशेष छलफल गरेका छन् । आज दिउँसो सैनिक मुख्यालय जंगीअड्डामा भएको छलफलमा गृहका सहसचिव नारायणप्रसाद भट्टराई, नेपाल प्रहरीका एआइजी किरण बज्राचार्य,काठमाण्डौ प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्री,सशस्त्रका एआइजी बंशीराज दाहाल,काठमाडौँका सिडिओ जितेन्द्र बस्नेत र ट्राफिक प्रहरीका एसएसपी जीवन श्रेष्ठलगायत सहभागी थिए ।
टिप्पणीहरू