मापदण्डविपरीत विद्यार्थी भर्ना शुल्क लिनेलाई कारबाहीको चेतावनी

मापदण्डविपरीत विद्यार्थी भर्ना शुल्क लिनेलाई कारबाहीको चेतावनी

काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत विद्यार्थी भर्ना शुल्क नलिन आफ्नो क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरुलाई आग्रह गरेको छ । 

विद्यालयहरुले मनलाग्दी भर्ना शुल्क लिएको व्यापक जनगुनासो आएपछि महानगरले यस्तो आग्रह गरेको हो । सम्पूर्ण संस्थागत विद्यालयलाई पत्राचार गर्दै महानगरले भर्ना शुल्कबापत एक महिनाको शुल्कभन्दा बढी रकम लिन नपाउने व्यवस्था रहेको जानकारी गराएको छ । 

काठमाडौं महानगरपालिका विद्यालय शिक्षा ऐन, २०७५, काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ तथा संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ को दफा ४.२.६ मा विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको एक महिनाको भन्दा बढी रकम लिन नपाउने व्यवस्था छ । 

त्यस्तै, सोही निर्देशिकाको दफा ४.२.७ मा कुनै कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क लिन नपाउने उल्लेख छ । सो व्यवस्थाविपरीत विद्यालयहरुले भर्ना शुल्क लिएको गुनासो आएको महानगरको भनाइ छ । महानगरले बढी भर्ना शुल्क नलिन र लिएको भए फिर्ता गरिदिन भनेको छ । 

‘विद्यार्थी भर्ना हुँदा एकपटक मात्र जुन कक्षामा भर्ना हुने हो सोही कक्षाको स्वीकृत मासिक शुल्कको एक महिनाको शुल्क लिन पाउने मापदण्ड रहेतापनि काठमाडौं महानगरपालिकाअन्तर्गत सञ्चालित केही संस्थागत विद्यालयहरुले विद्यार्थी भर्नाको नाममा प्रचलित कानुनले तोकेभन्दा बढी शुल्क लिएको जनगुनासो प्राप्त भएकाले प्रचलित ऐन, नियम, मापदण्ड र निर्देशिकाबमोजिम बाहेक विद्यार्थी भर्नालगायतका अन्य शुल्क नलिनुहुन तथा यसअघि प्रचलित ऐन, नियम, मापदण्ड र निर्देशिकाविपरीत विद्यार्थी भर्ना शुल्कलगायतका अन्य शुल्क लिइएको भएमा सम्बन्धित अभिभावकलाई फिर्ता गरिदिनुहुन अनुरोध छ’, पत्रमा उल्लेख छ । 

त्यस्तै, अटेर गर्ने विद्यालयलाई काठमाडौं महानगरपालिका विद्यालय शिक्षा ऐन, २०७५, काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ तथा प्रचलित ऐन नियमबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

टिप्पणीहरू