‘नेपाल टेक्ने रहरले सीमा नाघिसक्यो’

‘नेपाल टेक्ने रहरले सीमा नाघिसक्यो’

बाल्यकालको समयमा सायदै, नेपालबारे जान्दैनथ्यौं । नेपाल कहाँ छ ? त्यहाँ को बस्छ होला ? कस्तो होला त्यो नेपाल ?, मेरो जिज्ञासा । जन्मभूमि म्यानमारको परिवेशसँगै, हामी नेपाली भाषा, संस्कार र संस्कृति सिकिरहेका हुन्थ्यौं । बेलाबेला म, आफ्ना प्रश्नहरूबीच उभिन्थेँ ।

वर्षौं पहिले सपनाका पोकासँगै मेरा पूर्खाहरू नेपालबाट भारतको मणिपुर हुँदै, बर्माका अनेकौं गाउँ–ठाउँ पुगे । ऐरावती किनारा हुँदै, पशुपालन र कृषि खेतीका लागि मलिलो जग्गाको अभिलाषामा वन, जंगल भएका ठाउँहरू खोज्दै पूर्खाहरू श्यान प्रान्त टाँउजीसम्म आइपुग्नु भो। बर्मा आगमनसँगै मेरो परिचयमा बर्मेली नेपालीको उपमा थपियो । आजको दिनसम्म नेपाल र नेपालीबारे कतिपय इतिहास र वर्तमान अवस्था जाने पनि त्यो अतितको बालापनले घोचिरहन्छ ।

म बर्माको सरकारी स्कुलमा पढ्थेँ । मेरो स्कुल छुट्टी हुँदा, तीन महिना ‘वसन्त मातृ शिक्षा (नेपाली) पाठशालामा’ नेपाली पुस्तक पढाइ हुन्थ्यो । पाठशाला पुग्दा कखरासँगै पाखा–पखेरा, हिमाल, पहाड, तराई, कला, संस्कृति, नेपाली जाति, भाषा र धर्मका बारेमा जीवन उपयोगी कुरा सिक्ने अवसर पाएँ । ऊ बेला म अन्यौलमा हुन्थेँ । यी कुराहरू किन पढिरहेका छौं ? के यी विषयहरू हाम्रा लागि चाहिने हु्न् ? बर्मामा बसे पनि बर्मा बोल्न र पढ्न जाने पुग्दैनथ्यो र ? यस्ता खल्ला सोचहरूमा म रूमलिन्थेँ । मेरा बर्मेली साथीहरू स्कुल छुट्टीको तीन महिना स्वतन्त्र भएर खेल्दै, डुल्दै रमाउँथेँ । हामीहरू भने फेरि पाठशाला पुगेर नेपाली कखरा पढ्नुपर्ने ।

हिमाल के हो ? पहाड कहाँ छ ? तराईमा को बस्छ ? भाषा, कला र धर्मले के सिकाउँछ ? केही थाहा थिएन । म बर्मिज नेपाली संस्कारमा हुर्किए पनि पुस्तकमा पढेका, देखेका कतिपय शब्द र दृश्यहरू नयाँ–नयाँ लाग्थे । बर्मामा हाम्रो नेपाली जनजीवनमा आफ्नै छुट्टै शिक्षाको मुहान छ । त्यो शिक्षा र संस्कार दुःखै–दुःखका बीचमा पनि जोगाइ राखिएको छ । म सम्झन्छु, नेपाली पाठशालाले नेपाली भएर बाँच्न सिकायो । मैले वीर गोर्खा अथात् सुन्दर नेपाल र मेरो पुर्खाको गौरवका बारेमा त्यहीँबाट जान्न थाले ।

त्यस समयमा मेरो परिवार र नेपालबीचको साइनोबारे अन्यौलमा भएको बुबा सुनाउनुहुन्छ । उहाँलाई हजुरबाले गाउँको नाम र पुर्खाबारे कहिलेकाहीँ मात्रै बताउनुहुन्थ्यो रे । हजुरबा नेपालमै जन्मिनुभयो । बाध्यताले प्रवासी बन्नुभयो र यतै बसोबास थालेपछि, मेरो पुस्तासम्म यतै रमाएको छ । अहिले हजुरबा हुनुहुन्न ।

म सानो हुँदा बुबाले नेपालका आफन्तलाई चिठी लेखेको कतै–कतै याद छ । सायद, उहाँलाई आफन्त चिन्ने रहर जागेर, होला । महिनौंपछि, बुबाले पठाएको चिठी आफन्तसम्म पुगेछ । त्यो चिठी पाएसँगै नेपालका मेरा आफन्तहरूको खुसीमा आँखाभरी आँसु बगेको, उहाँहरू अहिले सुनाउनुहुन्छ । मेरो पुख्र्यौली भूमि भार्से गाउँ पश्चिम नेपालको गुल्मीमा पर्दोरहेछ । मेरो परिवार र आफन्त (नेपाल) सँग अहिले नियमित सम्पर्क हुन्छ ।

नेपालसँग सम्पर्कमा जोडिएपछि, हाम्रो परिवारमा नयाँ खुशी पलाएको आभाष भयो । मेरा आफन्त पनि नेपालमा हुनुहुन्छ ? म पनि कुनै बेला नेपाल पुग्नेछु । यी जवाफ आफैं पाउँथे । फुपूहरू नेपाल डुलेर फर्किनुभयो । उहाँहरू फर्किएपछि थुप्रै नयाँ कुराहरू सुनाउनु हुन्थ्यो । पुर्खाको देशको बयान सुन्दा, मनमा नेपाल पुग्ने आगो दन्कियो । हुनतः, अहिलेसम्म म पुगेकी छैन । तर, सपनाको दुनियाँमा चाँडै पुग्ने मेरो अठोट र विश्वास छ । यात्रा मेरो जीवनको अर्को पाटो हो । यात्राभन्दा म हुरूक्कै हुन्छु । मलाई नयाँ–नयाँ ठाउँहरू डुल्न र रमाउन मन लाग्छ । यदि हुँदा पनि नेपालका पाखा, पखेरा र हिमालसम्म पुग्ने लक्ष्यमा संर्घषरत छु । सामाजिक सञ्जालमा देखिएका कतिपय तस्बिरहरूले त मेरो मोबाइल नै भरिएको छ । चित्र–चित्र मेरो मनमा टाँसिएका छन् ।

बालापनमा पाठशाला पुग्दा ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’  यो गीत सयौं पटक मन र मस्तिष्कबाट सुनेको छु । आफूलाई नेपाली मालाको एउटा थुँगा सम्झिन्थे र सम्झिरहेको हुन्छु । गीतले नेपालीदेखि बर्मासम्म छरिएर रहेका नेपाली मुटुहरूलाई छोएको छ । भाषा, कला र संस्कृतिको म निकै शौखिन हुँ । मातृभाषा नेपालीसँगै राष्ट्रिय भाषा बर्मिज, अन्तर्राष्ट्रिय अंग्रेजी भाषा, हिन्दी, जापानी, कोरियन भाषाप्रति मेरो औधी रूची छ । यी भाषाहरू कता–कता बोल्ने प्रयास गरिरहेको हुन्छु । मलाई नेपाली साहित्य मनपर्छ । पहिले–पहिले कविताहरू पनि लेख्थेँ । अहिले अरूले लेखेका पढ्छु ।

कहिलेकाहीँ सोच्छु, ‘नेपाल जान भिसा लगाउनुपर्ने बाध्यता किन छ ? हाम्रो आफ्नै पुर्खाको भूमि होइन र ? हाम्रा लागि नेपाल के अर्कै देश हो र?’ यी त मेरा मनोवाद हुन्। वास्तविकता फरक रहेछ। हुनत, हरेक देशको आफ्नै कानुन हुन्छ । नेपाल–बर्माका पनि आफ्नै कानुन छन् । भूगोलको दूरीमा टाढा भए पनि नेपाल नदेखेका म जस्ताहरूलाई नेपाल, नेपाली भाषा, कला, धर्म र संस्कृतिको खुब माया लाग्दोरहेछ ।

नेपाली पहिचान सायद हाम्रो जीवन्त बाँच्ने आधार पनि होला । जन्मभूमि बर्माका पनि आफ्नै कथाहरू छन् । फराकिलो र फरक पहिचान भएको देश हो, बर्मा । यहीँ मुलुकमा मेरा पुर्खाहरूको इतिहास पनि निकै गर्वलाग्दो छ ।

कहिलेकाँही यस्तो लाग्छ कि पुर्खाको वीरताले मेरो समाज बाँचिरहेको छ । सीमाना र दूरीले टाढा भए पनि रगतको नाता आत्मीय हुँदोरहेछ । नेपालमा भूकम्पको धक्का लाग्दा, हाम्रा मुटुहरू हल्लिएका हुन्थे । नेपालसँग पुर्खाको नाता हुँदैनथ्यो भने, मनहरू पनि दुख्दैनथे, होला । सानो हुँदा नेपाली पोशाकमा फोटो खिचाइ मेरा बुबाले ‘नेपालका आफन्तलाई हामीले नेपालीपन भुलेका छैनौं है’ भनेर पठाएको सन्देशले अहिले मुटु पोल्छ । बल्ल बुझेँ, त्यो फोटोको कति ठूलो अर्थ रहेछ ।

मान्छे फेरिन सक्छ, भाषा, कला पनि फेरिएला, तर इतिहास फेरिँदैन । बर्मेली नेपालीहरूको इतिहास उँचो छ । बुबा, आमा र गुरुले यही सिकाउनुभयो । आज पशुपतिनाथ मन्दिर, बुद्धभूमि लुम्बिनी, सगरमाथा चुचुरो, पोखरा फेवाताल, गुल्मी भार्से, रारा ताल, वीर गोर्खालीका बारेमा थुप्रै गर्व लाग्दा इतिहास सुनेका, पढेका र देखेका छौं ।

संसार जतिसुकै फराकिलो बने पनि नेट र इन्टरनेटको दुनियाँले नजिक–नजिक बनायो । यी यस्ता कुराहरूले नै होला, मेरो नेपाल टेक्ने रहरले सीमा नाघिसकेको छ । म नेपाल पुग्छु र पुर्खाको देश नेपाल डुल्छु । र, गाउँछु ‘म त नेपालको माया गर्ने छोरी, मलाई म जस्तै माया चाहिन्छ । जय बर्मा, जय गोर्खा, जय नेपाल ।

रितु थापा, म्यान्मार

टिप्पणीहरू