अमृत साइन्स क्याम्पसमा एकपछि अर्को ताल्चा

अमृत साइन्स क्याम्पसमा एकपछि अर्को ताल्चा

राजधानीको लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा एउटा समूहले लगाएको ताल्चा फुटाएको केहीबेरमै अर्को समूहले तालाबन्दी गरेको छ । अनेरास्ववियुले लगाएको ताल्चा फुटाउनेबित्तिकै अर्को समूहले पुनः तालाबन्दी गरेको हो । गत चैत १८ गते अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच झडप भएको थियो । प्रहरीले झगडामा संलग्न अनेरास्ववियुका नेता गणेश शाहीलाई पक्राउ गरेर प्रहरी वृत्त, सोह्रखुट्टेमा राखेको थियो । 

सोही कलेजमा अध्ययनरत भएपनि भर्ना नभएका उनलाई रिहा गर्नुपर्ने र फिजिक्स स्ट्याट म्याथमा भर्ना गर्नुपर्ने मागसहित अनेरास्ववियुले चैत २५ गते क्याम्पसको प्रशासन र लेखा शाखामा तालाबन्दी गरेको हो । तालाबन्दीले गर्दा पठनपाठनमा समस्या आएपछि क्याम्पस प्रमुख लोकबहादुर बराल र क्याम्पस प्रशासनले अनेरास्ववियुका विद्यार्थी नेतालाई ताला खोल्न आग्रह गरेका थिए । 

तर, उनीहरुले नमानेपछि क्याम्पस प्रशासनले आज दिउँसो ताला फुटाएर कामकाज शुरु गरेको थियो । यता, अनेरास्ववियुनिकट मदन भण्डारी स्पोट एकेडेमी, अमृत साइन्स क्याम्पस कमिटीले प्रमुख बरालले लाखौं रुपैयाँ अपचलन गरेको आरोप लगाउँदै दिँउसो सवा ४ बजे पुनः तालाबन्दी गरेको छ । 

कमिटीका उपाध्यक्ष प्रकाश बयकलगायत पाँच जनाको टोलीले क्याम्पसको लेखा र प्रशासन शाखाको बाहिरी चेन गेटमा ताला लगाएको हो । क्याम्पसको विकास निर्माणमा खर्च गर्नुपर्ने रकम हिनामिना गरेको र बाहिरी गुण्डाहरु परिचालन गरी विद्यार्थीलाई यातना दिएको कमिटीको आरोप छ । आफ्नो पदको दुरुपयोग गरी आर्थिक अनियमितता गर्ने प्रमुखलाई कारबाही नगरेसम्म ताला नखोल्ने समितिले जनाएको छ ।

टिप्पणीहरू