निर्देशन नमानेका विद्यालयप्रति काठमाडौं महानगर क्रुद्ध

निर्देशन नमानेका विद्यालयप्रति काठमाडौं महानगर क्रुद्ध

काठमाडौं महानगरपालिकाले महानगरभित्रका दुई दर्जन बढी विद्यालयलाई कक्षा र विषय थप गर्न अनुमति प्रदान गरेको छ । नगर प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले २७ वटा विद्यालयलाई कक्षा र विषय थप गर्न अनुमति दिने निर्णय गरेको बताइएको छ । 

महानगरले सम्बन्धित क्षेत्रका विद्यालय निरीक्षक, स्रोत शिक्षक र सहरी योजना आयोगको स्थलगत अनुगमनबाट प्राप्त सिफारिसका आधारमा ती विद्यालयलाई कक्षा र विषय थप गर्न अनुमति दिएको बताएको छ । यसका लागि ४१ वटा निवेदन परेका थिए । तीमध्ये सात वटालाई अनुमति नदिने र नाम परिवर्तनको निवेदन प्राप्त भए थप चार वटा विद्यालयलाई अनुमति दिने निर्णय पनि भएको छ । 

त्यस्तै, नामसारीका लागि आएका चार वटा निवेदनमध्ये दुई वटालाई अनुमति नदिने र दुई वटाले नाम परिवर्तनका लागि निवेदन दिए अनुमति दिने निर्णय पनि बैठकले गरेको महानगरले जनाएको छ । 

स्थान परिवर्तनका लागि आएका सात वटा निवेदनमाथि छलफल गर्दा नाम परिवर्तनको निवेदन दिए चार वटालाई अनुमति दिने समेत निर्णय भएको बताइएको छ । 

यता, स्वामित्व परिवर्तनका लागि चार वटा निवेदन परेका थिए । त्यसमा पनि नाम परिवर्तनका लागि निवेदन दिएमा दुई वटा विद्यालयलाई अनुमति दिने अस्तिको बैठकको निर्णयमा उल्लेख छ । 

बैठकले वडा नम्बर १६ मा रहेको तरुण माध्यमिक विद्यालयमा आविष्कार क्लब सञ्चालन व्यवस्था मिलाउन शिक्षा विभागलाई निर्देशन दिएको छ । हाल महानगरका ४० वटा सामुदायिक विद्यालयमा आविष्कार क्लब छन् । यीमध्ये वडा नम्बर ३१, मा रहेको भीमसेनगोला माध्यमिक विद्यालयले गत वर्षको प्रगति प्रतिवेदन पेश नगरेकोले यसको सट्टा तरुण माध्यमिक विद्यालयलाई सो अवसर प्रदान गरिएको हो ।

बैठकले विद्यालयहरुको विदेशी नाम नेपालीकरण गर्ने प्रक्रियाअन्तर्गत नाम परिवर्तन गर्दा लाग्ने राजस्व छुटका लागि कार्यपालिकालाई सिफारिस समेत गरेको छ ।

टिप्पणीहरू