चुनावी वाचा पूरा गर्न साग पसल खोल्दै घण्टीका उम्मेदवार

चुनावी वाचा पूरा गर्न साग पसल खोल्दै घण्टीका उम्मेदवार
सुन्नुहोस्

नेकपा माओवादी केन्द्र परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीको टिकटमा चुनावी प्रतिस्पधा गरेका मिलन लिम्बूले तरकारी पसल खोल्ने भएका छन् । इलाम–२ को उपचुनावमा धरौटी जफत भएपछि उनले तरकारी बेचेरै भएपनि जनताको सेवा गर्ने बताएका छन् । 

केही युवा मिलेर सागसहित अन्य कृषि जन्य उत्पादनको बजारीकरणमा लागेको उनको भनाई छ । यसका लागि बजार अध्ययन र आधारभूत काम शुरु भइसकेको जानकारी दिए । 

चुनावी घरदैलो अभियानकै क्रममा उनले नजिता आफ्नो पक्षमा नआए साग बेचेर बस्ने घोषणा गरेका थिए । लिम्बूूले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै अनैतिक आर्जनबाट जीवन धान्न बानी परेकाहरुले आफ्नो उक्त अभिव्यक्तिलाई ट्रोल बनाइरहेको बताए ।

लिम्बूले भनेका छन् :

साग पसल खोल्दै छु :

निर्वाचन अगाडि पत्रकार साथीहरूले प्रश्न गर्ने गर्नुहुन्थ्यो पत्रकारिता छोडेर राजनीतिमा आउनुभयो । निर्वाचनमा सहभागी हुनुभएको छ, जित्नुभयो भने त सांसद बन्नुहुन्छ, हार्नुभयो भने के गर्नुहुन्छ ? 

मेरो जवाफ हुन्थ्यो :

सांसद भए सदनमा जनताको आवाज उठाउने छु । नभए साग बेचेरै भएपनि जनताको सेवा गर्छु ।

प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा रहेका एउटा उम्मेदवारले ‘साग बेचेरै भए पनि जनताको सेवा गर्छु’ भन्दै गर्दा धेरैलाई अनौठो लाग्यो । जसलाई अनौठो लाग्यो उसलाई श्रम र हाम्रा (इलाम) का सम्भावनाहरू थाहै छैन । जसलाई, श्रम गरेर होइन, अनैतिक आर्जनबाट जीवन धान्न बानी परेको छ । त्यसैले यो विषयलाई ‘ट्रोल’ बनाउने कोशिस भयो । त्यसमा भन्नु केही छैन । 

इलाम र कृषि उत्पादन :

इलाम कृषिजन्य उत्पादनको दृष्टिले प्रचुर सम्भावना भएको जिल्ला हो । तर, यहाँको कृषिजन्य उत्पादनले उचित बजार पाएको छैन । उत्पादन बढाउँदै बजारसम्म पुर्याएर कृषकको जीवनस्तर उकास्न थोरै भए पनि योगदान गर्नु छ । यो योजनाअनुरूप मैले साग बेचेरै भए पनि जनताको सेवा गर्छु भनेको हुँ । 

साग पसल खोल्दै छौं :

हामी इलामेली युवा मिलेर छिट्टै नै साग पसल अर्थात् कृषिजन्य उत्पादनको बजारीकरणका लागि काम गर्दै छौँ । यसका आधारभूत कामहरू सुरु भइसकेका छन् । किसानबाट संकलन गर्न सकिने कृषिजन्य उत्पादनको सूची तयार भएको छ । यसका सम्भावित बजारबारे अध्ययन भएको छ । हामी छिट्टै नै उत्पादन, संकलन र बजारीकरणको अवस्थामा पुग्ने छौं । छिट्टै नै हाम्रो साग पसल देख्न पाउनुहुने छ ।

साग बेचेर के हुन्छ ? :

हाम्रो क्षमताले भ्याएसम्म कृषकको उत्पादनलाई बजारसम्म पुर्याउँदा कृषकको जीवनस्तर उकास्न सहयोग पुग्ने छ । त्यसपछि, सोही व्यवसायबाट हामी युवा पनि आत्मनिर्भर हुने छौँ । 
राजनीति पेसा होइन । राजनीतिलाई पेसा बनाउनु हुँदैन । म राजनीतिलाई पेसा बनाउने गलत प्रवृत्तिको पक्षमा छैन । त्यसकारण राजनीति मेरा लागि सेवा हुने छ, जीवन धान्न कृषिजन्य उत्पादन र बजारीकरण मेरो पेशा हुने छ । यसै कर्मबाट नै इलामेली जनताको सेवा गर्ने छु ।

भन्दै आएको थिएँ :

म अकबरे उम्मेदवार हुँ
म अलैँची उम्मेदवार हुँ
म अम्लिसो उम्मेदवार हुँ
म ओलन उम्मेदवार हुँ

अर्थात् इलामका कृषक र कृषि उत्पादनको उम्मेदवार हुँ । 
र, आज पनि भन्छु– साग बेचेरै भए पनि जनताको सेवा गर्छु ।

 

टिप्पणीहरू