कोलम्बोबाट फर्केपछि विनोद चौधरी मुम्बईतर्फ
विवादास्पद व्यापारी तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरी आज भारतको मुम्बई गएका छन् । उनी इण्डिगो एअरलाइन्सको उडान नम्बर ६इ११५८ मा दिउँसो साढे ३ बजे काठमाडौंबाट त्यता गएका हुन् ।
यसअघि उनी श्रीलंका गएर आठ दिनपछि स्वदेश फर्केका थिए । उनी कोलम्बोबाट श्रीलंकन एअरलाइन्सको उडान नम्बर युएल १८१ मा वैशाख १० गते दिउँसो साढे १२ बजे काठमाडौंमा ओर्लेका थिए ।
त्यसअघि फिलिपिन्सको मनिलाबाट बैंकक हुँदै चैत २८ गते दिउँसो थाइ एअरवेजको उडान नम्बर टिजी ३१९ मा काठमाडौं आएका थिए । चैत ८ गते पनि श्रीलंकाको राजधानी कोलम्बो नै उडेका थिए ।
त्यसदिन बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिएपछि दिउँसो श्रीलंकन एअरलाइन्सको उडानमा त्यता गएका उनी उतै उतै मनिला पुगेपछि श्रीमती सारिका चौधरीलाई पनि बोलाए । सारिका मलेसियन एअरलाइन्सको उडान नम्बर एमएच ११५ मा क्वालालम्पुर हुँदै मनिला पुगेकी थिइन् ।
काठमाडौंको बाँसबारीस्थित तत्कालीन छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको विषयमा ब्युरोले उनीसँग चैत ८ गते बिहान बयान लिएको थियो । त्यसअघि माघ १८ गते कान्छो भाइलगायत तीन जनालाई ब्युरोले नियन्त्रणमा लिएर बयान लिएपछि पनि सोही दिन एकाएक नयाँ दिल्लीतिर हान्निएका थिए ।
टिप्पणीहरू