एक घण्टाको फरकमा काँग्रेसका दुई बैठक बस्दै

एक घण्टाको फरकमा काँग्रेसका दुई बैठक बस्दै

नेपाली काँग्रेसले आज एक घण्टाको फरकमा दुई वटा बैठक बोलाएको छ । दिउँसो १ बजे संसदीय दल कार्यसमितिको बैठक डाकेको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा राखिएको छ ।

कार्यसमितिको बैठकपछि काँग्रेसले संसदीय दलको बैठक तोकेको छ । सोही स्थानमा दिउँसो २ बजे काँग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग राख्दै काँग्रेसले संसद बैठक अवरुद्ध पारेको छ । शुक्रबारदेखि शुरु भएको वर्षे अधिवेशनको पहिलो दिन काँग्रेसले संसद बैठक अवरुद्ध पारेको हो ।

सरकारले भोलि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने यसअघि नै बताइसकेको छ । संसदको संयुक्त बैठकमा दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद सचिवालयको सूचनामा उल्लेख छ । 

तर, हिउँदे अधिवेशनदेखि नै बैठक अवरुद्ध पार्दै आएको काँग्रेसले भोलि दिउँसोको संयुक्त बैठकबारे निर्णय लिन संसदीय दलको बैठक बोलाएको बुझिएको छ । बैठक सुचारु गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवासँग हिजो बिहान बालुवाटारमा लामो छलफल गर्नुभएको थियो । दिउँसो सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलका प्रमुख सचेतकहरुसँग पनि सोही विषयमा कुराकानी गर्नुभएको थियो ।
 

टिप्पणीहरू