सहकारी प्रकरण चर्केपछि रास्वपाका सीईओद्वारा राजीनामा

सहकारी प्रकरण चर्केपछि रास्वपाका सीईओद्वारा राजीनामा
सुन्नुहोस्

सहकारी ठगी प्रकरणपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्रीसँगै उनको दलसमेत उक्त दलदलमा फसेको छ । सभापति  लामिछानेको गलत प्रवृत्तिले कार्यकर्तामा निराशा उत्पन्न हुँदै गएपछि जिम्मेवार पदमा रहेका नेताहरुले समेत भटाभट राजीनामा दिएका छन् ।

गत माघ ३ गते बर्दियास्थित गुलरियाका वडा सभापति प्रेमबहादुर खड्कासहित २१ जनाले एकैचोटी पार्टी परित्याग गरे । पार्टीमा व्यक्तिवादी दासत्व रहेको उनीहरुको दाबी थियो । त्यसपछि माघ १२ गते मकवानपुरका जिल्ला सभापति राजकुमार न्यौपानेले रास्वपा भ्रमको आडमा पार्टी निर्माण गरिएको रहस्य खोल्दै राजीनामा दिएका हुन् । 

गत निर्वाचनमा बारा–२ मा रास्वपाबाटै उम्मेदवार बनेका अवकाशप्राप्त प्रहरी डिआईजी रमेश खरेलले गत चैत १४ गते पार्टी परित्याग गरे । नयाँ र वैकल्पिक भनिएको पार्टी पनि सत्ता केन्द्रित रहेको उनको आरोप थियो । उनले भनेका थिए, ‘जुन जोगी आए पनि कानै चिरेको !’

वैशाख २१ गते पनि काठमाडौं क्षेत्र नम्बर ९ र १० का दुई नेताले पत्रकार सम्मेलन गरेर पार्टी छाडेको घोषणा गरे । उनीहरुले रास्वपाको झण्डा र ब्याचहरु बागमती र विष्णुमतीमा लगेर सेलाइदिने उद्घोष नै गरेका थिए । 

अहिले रास्वपाका सिईओ हेमन्त बरालले पनि राजीनामा दिएको बताइएको छ । पार्टी शीर्ष तहका नेताहरुको आग्रहमा उनको राजीनामालाई सार्वजनिक नगरिएको स्रोतको दाबी छ ।
भक्तपुर घर भएका बराललाई सभापति लामिछानेले नौ महिनाअघि सिइओ बनाएका थिए । सम्झौता अनुसारको कार्यकाल नसकिँदै उनले पदबाट राजीनामा दिएका हुन् ।  

उनी चितवनस्थित लामिछानेको सचिवालयमा बसेर कार्यभार सम्हाल्दै आएका थिए । बरालले एकाएक राजीनामा दिएपछि अहिले पार्टिभित्र नयाँ तरंग आएको बताइन्छ । उनले पारिवारिक र व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको खुलाएका छन् ।
 

टिप्पणीहरू