एमालेलाई सरकारमा आउन माधव नेपालको आह्वान
एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन नेकपा एमालेलाई आग्रह गर्नुभएको छ ।
मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिएर सरकारमा सामेल हुन उहाँले एमालेलाई आह्वान गर्नुभएको हो । आज आलोकनगरस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफमा अध्यक्ष नेपालले सत्ता साझेदार सबै दल सरकारमा सहभागी हुने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।
‘यो सत्ता समीकरणमा हाम्रो पार्टी पनि सामेल छ । केन्द्रीय सरकारमा पनि छ र प्रदेश सरकारमा पनि छ । आजमात्रै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ, उहाँले विश्वासको मत प्राप्त गर्नुपर्ने कार्यसूचि छ', उहाँले भन्नुभयो, 'सबै सम्बन्धित पार्टीबाट सहयोग प्राप्त गर्नेछौँ भन्ने लागेको छ । विश्वासको मत दिएर सरकारलाई अघि बढाउने मात्रै होइन, मन्त्रीमण्डलमा सहभागी भएर सहकार्य गर्नका लागि आह्वान गर्न चाहन्छौँ ।'
कोशी प्रदेशमा एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने पनि नेपालले बताउनुभयो । मधेसमा भने जनता समाजवादी पार्टी, नेपाललाई अहिले सहयोग गरिरहेको उहाँको प्रश्टोक्ति छ ।
त्यसक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टी फुटाउन कसैले पनि नसक्ने दाबीसमेत गर्नुभएको छ । जनता समाजवादी पार्टी, नेपाल विभाजित भएपछि समाजवादी मोर्चामा संकट निम्तिएको उहाँको भनाई छ ।
टिप्पणीहरू