अवरोधका बीच मुख्यमन्त्रीलाई विश्वासको मत
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।
प्रदेश सभाको जम्मा २८ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री सोडारीले विश्वासको मत पाएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे ।
प्रतिपक्ष नेपाली कांग्रेस र नागरिक उन्मुक्तिको बहिष्कारका बीच उनले राखेको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो । मुख्यमन्त्री सोडारीले २८ मत पाए भने विपक्षमा शून्य मत पर्यो ।
एमालेका ११, माअोवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्ति पार्टी (नाउपा)का २ र एक जना स्वतन्त्र सांसदले पक्षमा मतदान हुन् । कांग्रेस र नाउपाको रेशम पक्षका सांसदहरू भने मतदान प्रक्रियामा सहभागी नभई बहिष्कार गरेर हिँडेका थिए ।
त्यसअघि पहिलो चरणमा बैठक प्रारम्भ हुनेबित्तिकै प्रदेश प्रमुख नजिर मियाँले असंवैधानिक तरिकाबाट मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाउँदै विपक्षीले बैठक अवरोध गरेका थिए । त्यसपछि सभामुख भीमबहादुर भण्डारीले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।
दोस्रोपटक सभामुख भण्डारीले मुख्यमन्त्री सोडारीलाई विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न आदेश दिएपछि कांग्रेस र नाउपाका सांसदहरूले बेल घेराउ गर्दै सभामुखविरुद्ध नाराबाजी गरेका थिए ।
टिप्पणीहरू